काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि तयारी अन्तिम चरणमा


Posted: Sept. 20, 2024
  Engineers Nepal

काठमाडौँ- काठमाडौँवासीले घटस्थापनाअघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।

दशैँअघि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानी मन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । यसैअनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ ।

मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौँमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि खटिएका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । बर्खा लागेसँगै धमिलो आउन थालेपछि र बाढीले क्षति गर्ने भएका कारण काठमाडौँ उपत्यकामा गत असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो ।

बाढीको सम्भावना कम भएसँगै काठमाडौँमा पानी वितरण गर्ने योजनाअनुसार तयारी भइरहेको छ । काठमाडौँ उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गत असार १० गतेअघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नदीबाट अब दैनिक करिब २० करोड लिटर पानी ल्याउन लागिएको छ । काठमाडौँमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा ‘इन्टेक’ सार्ने तयारी भइरहेको छ ।






Leave a comment




Comments