04 May 2026
२०८३-०१-२१ (सोमबार)
काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालयले स्नातक तहको इन्जिनियरिङ संकायमा शैक्षिक सत्र २०८१/०८२ को लागि लिइएको बीई./बी.आर्कको रिक्त रहेको सिटमा प्रवेश परीक्षाका लागि पुन: आवेदन माग गरेको छ ।
पूर्वाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ संकाय अन्तगर्तका आंगिक एवं सम्बन्धन प्राप्त स्कूल/क्याम्पस/कलेजहरूमा सञ्चालित इञ्जिनियरिङ संकाय अन्तर्गत स्नातक तहका बीई (Civil, Computer, Electronics Communication & Automation, Electrical, Geomatic, Biomedical) र बी.आर्कको शैक्षिक कार्यक्रमहरूमा नयाँ भर्नाको प्रवेश परीक्षाका लागि यसअघि संचालन गरिएको प्रवेश परीक्षामा उतीर्ण विद्यार्थीहरू भर्ना भई रिक्त रहेको सिटमा पुनः प्रवेश परीक्षाका लागि अनलाईन आवेदन फाराम आह्वान गरिएको हो ।
पूर्वाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ संकाय प्रवेश परीक्षा समिति-२०८१ ले असोज २ गते बुधबार एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो । विश्वविद्यालयद्वारा तोकिएको न्यूनतम् शैक्षिक योग्यता हासिल गरेका इच्छुक विद्यार्थीहरूले आफूले अध्ययन गर्न चाहेको शैक्षिक संस्था र शैक्षिक कार्यक्रम छनौट गरी अनलाइन फारामको विवरण भरी सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्रहरू र पासपोर्ट साइजको फोटोको स्क्यान कपी समेत राखी तोकिएको दस्तुरसहित सम्बन्धित संकायमा Online Payment मार्फत् आवेदन फाराम भर्ने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।
साथै नेपालबाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यताको हकमा सम्बन्धित निकाय/संस्थाबाट जारी गरिएको समकक्षताको प्रमाणपत्रको स्क्यान कपी अनिवार्य रूपले राख्नुपर्ने समेत सूचनाद्वारा जानकारी गराइएको छ ।
अनलाईन फाराम भर्ने सम्बन्धी थप जानकारी आवश्यक भएमा पूर्वाञ्चल विश्वविद्यालय प्रवेश परीक्षा समितिको Email ID: [email protected] वा सम्पर्क नं. ०२१-४६४०६० मा सम्पर्क राख्न सकिने छ ।
