८७ मेगावाटको लान्द्रुक मोदी जलविद्युत् आयोजनामा जुट्यो लगानी


Posted: Sept. 19, 2024
  Engineers Nepal

काठमाडौँ- सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको लान्द्रुक मोदी जलविद्युत् आयोजनामा माछापुछ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्पन्न भएको हो । आइतबार आयोजनाको प्रवर्द्धक कम्पनी अन्नपूर्ण विद्युत् विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुछ्रे बैंक लिमिटेडको तर्फबाट बिनितकुमार झाले लगानी सम्झौतामा हस्ताक्षर गर्दै वित्तीय व्यवस्थापन टुंग्याएका हुन् ।

१६ अर्ब ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरूले ७५ प्रतिशत अर्थात १२ अर्ब २० करोड लगानी गर्ने छन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रोसहित प्रवर्द्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताहरूले व्यवस्थापन गर्ने सिंगटी हाइड्रो इनर्जी लीमिटेडले जनाएको छ ।

आयोजनामा ग्लोवल आइएमई, एभरेष्ट, एसबीआई, कृषि विकास र लुम्बिनी विकास बैंक समेत सहभागी छन् । अन्नपूर्ण विद्युत् विकास प्रालिद्वारा प्रवर्द्धित लान्द्रुक मोदी जलविद्युत् आयोजना कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्दछ । जलविद्युत् विज्ञहरूका अनुसार यो आयोजना विश्वकै तेस्रो हाई हेड प्रोजेक्ट र नेपालको हकमा भने पहिलो अर्थात सबैभन्दा धेरै उचाइ भएको आयोजना हो । 

उक्त आयोजनाको हेडवक्सदेखि विद्युत् गृहसम्मको वास्तविक उचाइ १४ सय १८ मिटर रहेको छ । नेपाली जलविद्युत् आयोजनाहरूमा यो लेभलको उचाइ सबैभन्दा धेरै हो । नेपाल विद्युत् प्राधिकरणसँग यसअघि नै विद्युत् खरिद सम्झौता पिपिए भइसकेको यो आयोजनामा आगामी कार्तिकबाट भौतिक निर्माणको काम सुरु हुने प्रवर्द्धक कम्पनी अन्नपूर्ण विद्युत् विकासले जनाएको छ ।






Leave a comment




Comments