20 April 2025
२०८२-०१-०७ (आइतबार)
धनुषा- मधेश प्रदेशको चार जिल्लामा ८ अर्ब ५१ करोड ७९ लाख रुपैयाँको लागतमा तीन सय ३५ किलोमिटर हुलाकी सडक निर्माण गरिएको छ । आर्थिक वर्ष ०७२/७३ देखि आव ०८०/८१ सम्ममा उक्त हुलाकी सडक निर्माण गरिएको हो ।
केही ठाउँमा थप सडक निर्माण गर्ने कार्य भइरहेको छ । प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा हुलाकी सडक निर्माण गरिएको हो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जीतकुमार रायका अनुसार ती चार जिल्लामा कुल तीन सय ९३ किमी सडक निर्माण गर्ने लक्ष्य थियो ।
यस क्रममा साना तथा ठूला गरी ५१ पक्की पुल निर्माण गरिएका छन् । हुलाकी सडक निर्माण कार्य नेपाल तथा भारत सरकारको लगानीमा भइरहेको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए । हुलाकी सडक निर्माणबाट करिब ३६ लाख नागरिक लाभान्वित हुने उनले बताए ।
‘हुलाकी सडक छेउछाउका जमिनको मूल्य आकासिएको छ, राजमार्गमा पर्ने ठूला तथा साना बजार आर्थिकरुपले समृद्ध हुँदै गएका छन् । राजमार्गमा सवारी साधनको आवागमनमा वृद्धि भएको छ,’ उनले भने ।
कार्यालयबाट प्राप्त विवरणअनुसार निर्माण भएको हुलाकी सडकमध्ये सिरहामा २९ दशमलव ९८ किमी (कमला-बलान सडक), २७ दशमलव ४६ किमीको गोलबजार जमदह लवदी र गरियानी खडग सडक, धनुषामा ३५ दशमलव ५८ किमीको कदम चौक-कप्टौल-निकौरिया सडक, १० किमीको यदुकोहा-खजुरीमहुवा सडक तथा १० दशमलव २६ किमीको जनकपुरधाम-जलेश्वर भिठ्ठामोड सडक रहेका छन् ।
यसैगरी महोत्तरीमा निर्माण भएका सडकमा २० किमी लामो जनकपुर-बसविटी-वलुवा-हर्दिपोखर-भिण्डा-सङ्ग्रामपुर सडक निर्माण गरिएको छ । सर्लाहीमा २२ दशमलव ४८ किमी लामो वेल्हीत्रिभुवन नगर सडक, २१ दशमलव २० किमी लामो फुलजोड-त्रिभुवन नगर सडक तथा ४० दशमलव ३७ किमी लामो शितलपुर-मलङ्गवा-खरैयाटोल सडक, २६ दशमलव ५९ किमी लामो नवलपुर-मलङ्गवा तथा ४० दशमलव ५८ किमी लामो नयाँ रोड-बरहथवा र मधुवनी सडक तथा बरहथावादेखि पश्चिम ५२ किमी सडक निर्माण सम्पन्न भएका छन् । रासस