ऊर्जा क्षेत्रमा लगानी गर्नेलाई अवसरै अवसर : इप्पान


Posted: Sept. 13, 2024
  Engineers Nepal

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा पुँजी लगानी गर्नेदेखि आवश्यक मेसिनरी वस्तु उत्पादन गर्नेसम्मलाई अवसर नै अवसर रहेको बताएका छन् ।

काठमाडौँमा जारी नेपाल इन्फ्रास्ट्रक्चर समिटको दोस्रो दिन ऊर्जा र जलस्रोत विषयको छलफलमा अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । सोही क्रममा २८ हजार ५०० मेगावाट उत्पादन गर्दा ४६ खर्ब रुपैयाँ लगानी चाहिने बताउँदै उनले यसै अनुसार यससँग जोडिने अन्य व्यापार तथा व्यवसायका लागि पनि धेरै ठूलो अवसर आउने उल्लेख गरे ।

उनले बैंक, इन्स्योरेन्स र रि–इन्स्योरेन्सका लागि धेरै ठूलो लगानीको अवसर रहेको र यसमा सप्लायर्स, डिजाइनर, कन्सल्ट्यान्टलगायतलाई पनि त्यतिकै ठूलो अवसर रहेको भनाइ राखे ।

यसैगरी उनले २८ हजार मेगावाट उत्पादनको सपना पूरा गर्नका लागि एकद्वार प्रणालीमार्फत काम हुने वातावरण बनाउनुपर्ने उनको जोड दिए ।

अहिले धेरै ठाउँमा विद्युत् आयोजना सम्पन्न भए पनि प्रसारण लाइन नभएका कारण आयोजनाको विद्युत् खेर गइरहेको पनि कार्कीले बताए । त्यसका लागि सरकारले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणको जिम्मा दिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले नियामकीय ढाँचामार्फत निजी क्षेत्रलाई सहजीकरण गर्ने बताए ।

नेपालमा विदेशी लगानीमा २१६ मेगावाटको आयोजना निर्माण गरिरहेको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत योङजिङ होङले नेपालमा धेरै निकायसँगका विभिन्न चरणमा धेरै चुनौतीहरू पार गर्दै आयोजना निर्माण भइरहेको बताए ।

एसियाली विकास बैंक (एडीबी) की ऊर्जा क्षेत्र अधिकृत सुजाता गुप्ताले नेपालको प्रसारण लाइन निर्माणमा एडीबीले ४० प्रतिशत लगानी गरिसकेको बताइन् । उनले आगामी ५ वर्षभित्र ऊर्जा क्षेत्रमा थप १.५ बिलियन डलर लगानी गर्ने योजना रहेको समेत जिकिर गरिन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै इप्पानका सल्लाहकार कुमार पाण्डेले नेपालमा आयोजना बनाउँदा प्रवर्द्धकले सामना गर्नुपर्ने चुनौतीबारे बताए ।






Leave a comment




Comments