बीई/बी.आर्क तहमा भदौ २८ देखि भर्ना कार्यक्रम सुरु, कति छ विद्यार्थी भर्ना कोटा ?


Posted: Sept. 12, 2024
  Engineers Nepal

काठमाडौँ- इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) को शैक्षिक सत्र २०८१/०८२ को लागि लिइएको बीई./बी.आर्क प्रवेश परीक्षामा उतीर्ण भएका परीक्षार्थीहरूको लागि भर्ना भोलिबाट सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले एक सूचना जारी गर्दै भोलि भदौ २८ गतेदेखि भर्ना सुरु हुने जनाएको हो । 

इ.अ.सं. प्रवेश परीक्षा बोर्डद्वारा भदौ २२ गते प्रकाशित प्रवेश परीक्षाको नतिजामा उत्तीर्ण भएका परीक्षार्थीहरूले त्रि.वि. इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरूको भर्ना सूची प्रकाशन र भर्ना प्रक्रिया इ.अ.सं. केन्द्रीकृत भर्ना अनुगमन समितिले प्रकाशित गरे अनुसार हुने बताइएको छ । सो सम्बन्धी सबै जानकारी admission.ioe.edu.np मा मिति २०८१/०५/२६ मा हेर्न सकिनेछ ।

भर्नाका लागि इ.अ.सं. प्रवेश परीक्षा बोर्डद्वारा प्रकाशित योग्यताक्रमको सूचीमा नाम प्रकाशित भएकाहरू मध्येबाट इ.अ.सं., केन्द्रीकृत भर्ना अनुगमन समितिले प्रकाशित गरेको भर्ना कार्यक्रमअनुसार सम्बन्धित क्याम्पस/कलेजहरूले आ-आफ्नो क्याम्पस/कलेजमा पठनपाठन हुने विषयहरूमा आवेदन माग गरी योग्यता क्रमअनुसार भर्नाको सूची प्रकाशित गर्नुपर्ने छ ।

आर्किटेक्चर कार्यक्रममा भर्नाका लागि नाम प्रकाशित भएका आवेदकहरूलाई सम्बन्धित क्याम्पस/कलेजहरूले झुकाव परीक्षा (Aptitude Test) लिन सक्ने छन् । Withheld मा भएका परीक्षार्थीहरूले आफ्नो फोटो भएको परिचय पत्र (जस्तैः I.Sc./10+2 / Engg Diploma को प्रवेश पत्र, नागरिकताको प्रमाण पत्र, सवारी चालक अनुमति पत्र वा राहदानीको सक्कल प्रमाणपत्र) सूचना तथा संचार प्रविधि केन्द्रमा ल्याई आफ्नो नाम भदौ २६ गतेभित्र Withheld बाट हटाउन अनुरोध समेत गरेको छ । अन्यथा कुनै पनि क्याम्पस/कलेजमा भर्ना नहुने जानकारी डीनको कार्यालयले दिएको छ ।

आइओइको शैक्षिक सत्र २०८१/०८२ को लागि भदौ १६ देखि २२ गतेसम्म कम्प्यूटर माध्यमबाट लिइएको बीई./बी.आर्क प्रवेश परीक्षाको नतिजा गत शनिबार प्रकाशित भएको थियो ।

प्रवेश परीक्षामा कुल ९ हजार ३ सय ६१ जना विद्यार्थीहरूले फारम भरेकोमा इन्जिनियरिङ अध्ययन संस्थानले ६ हजार ५ सय ३० जनालाई मेरिटभित्र राखेर नतिजा प्रकाशन गरेको थियो ।

केही वर्षदेखि संस्थान अन्तर्गतका निजी कलेजमा विद्यार्थीको अभाव हुन थालेपछि उत्तीर्ण प्रतिशत हटाएर संस्थानले विद्यार्थी भर्ना कोटा संख्याअनुसार मेरिट प्रकाशन गर्दै आएको छ ।

डीन कार्यालयका अनुसार १५ वटा क्याम्पस/कलेजहरूमा भर्नाका लागि विद्यार्थी कोटा राखिएको छ । जसमा १९ वटा विषयहरू ४ हजार ३४४ वटा कोटा राखिएका छन् । 

भर्ना खोलिएका कलेज तथा क्याम्पसहरूमा चितवन इन्जिनियरिङ क्याम्पसमा २४ वटा, ख्वप कलेज अफ इन्जिनियरिङमा १९२, जनकपुर इन्जिनियरिङ कलेजमा १९२, काठोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा १९२, ललितपुर इन्जिनियरिङ कलेजमा ९६, नेशनल कलेज अफ इन्जिनियरिङमा २४०, हिमालय कलेज अफ इन्जिनियरिङमा २४०, एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा ३३६, सगरमाथा इन्जिनियरिङ कलेजमा १४४, कान्तिपुर इन्जिनियरिङ कलेजमा २८८, काठमाडौँ इन्जिनियरिङ कलेजमा ३८४, पूर्वाञ्चल क्यम्पसमा ५२८, पश्चिमाञ्चल क्याम्पसमा ४३२, थापाथली क्याम्पसमा ४३२ र पुलचोक क्याम्पसमा ६२४ रहेका छन् ।






Leave a comment




Comments