- 15 November 2024
- २०८१-०७-३० (शुक्रबार)
काठमाडौँ- भोलिदेखि भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुँदै छ ।
मीडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रा.लि. को संयुक्त आयोजनामा उक्त प्रदर्शनी आइतबारसम्म हुने छ । प्रदर्शनीको उद्घाटन ऊर्जामन्त्री दीपक खड्काले गर्ने छन् ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका एक सय ५० भन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरू, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चार्जिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहने छ ।
आयोजकका अनुसार आफनै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रूपमा सबलिकरण गर्दै लान एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्याउने उद्देश्य छ।
विद्युतीय उपकरणको प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीहरूको व्यवसायिक विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको जनाइएको छ ।
नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी अन्तर्गत दशैंको अवसर पारेर ग्राहकहरूले विभिन्न कम्पनीका विद्युतीय सामग्रीहरू एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाउने छन् ।