उच्च विद्युत् चुहावट हुनेमा मधेश दोस्रो स्थानमा, कर्णाली पहिलो


Posted: Sept. 5, 2024
  Engineers Nepal

पर्सा- मुलुकका सात प्रदेशमध्ये विद्युत् चुहावट हुने प्रदेशमा मधेश प्रदेश दोस्रो स्थानमा रहेको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार मधेश प्रदेशमा विद्युत् चुहावट १५ दशमलव २९ प्रतिशत रहेको छ । 

सबैभन्दा धेरै विद्युत् चुहावट हुने प्रदेशमा कर्णाली प्रदेश रहेको छ । सो प्रदेशमा विद्युत् चुहावट २१ दशमलव   ७९ प्रतिशत रहेको छ । नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले सातै प्रदेशमध्ये मधेश प्रदेश विद्युत् चुहावटमा दोस्रो स्थानमा परेको बताए । 

‘सातवटै प्रदेशमा हुने विद्युत् चुहावटमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशमा हुने गरेको छ । कर्णालीमा हुने विद्युत् चुहावट प्राविधिक कारणले भएको हो,' उनले भने, ‘मधेश प्रदेश दोस्रो धेरै विद्युत् चुहावट हुने स्थानमा पर्नुको कारण गाउँगाउँमा लुकीछिपी विद्युत् चोरी गर्ने प्रवृत्ति देखिएको छ ।’

प्रादेशिक कार्यालय प्रमुख ठाकुरले मधेश प्रदेशमा सर्वसाधारणले विद्युतको पोलबाट सोझै हुकिङ गरेर, मिटरबाट र सिँचाइका लागि जडान गरेको लाइनबाट धेरै विद्युत् चोरी हुने गरेको बताए । 

‘हामीले गत आवमा मात्रै विद्युत् चुहावटमा संलग्न दुई हजार छ सय ५६ जनालाई समातेर कारबाही गरेका छौँ,' उनले भने, ‘जनचेतनाको अभावले पनि मधेश प्रदेशमा विद्युत् चुहावटका घटना धेरै हुने गरेका छन् ।’ 

मधेश प्रदेशमा प्राधिकरणका २३ वटा वितरण कार्यालय छन् । प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरका अनुसार मधेश प्रदेशमा आव २०७७/७८ मा विद्युत् चुहावट १६ दशमलव  ५४ प्रतिशत रहेको थियो । आव २०७८/७९ मा भने १४ दशमलव  १७ प्रतिशतमा झरेको थियो । 

तर, आव २०७९/८० मा विद्युत् चुहावट १३ दशमलव ७९ प्रतिशतमा सीमित भएको थियो । त्यस्तै आव २०८०/८१ मा भने विद्युत् चुहावट केही प्रतिशत बढेर १५ दशमलव २९ प्रतिशतमा पुगेको छ । प्राधिकरणका अनुसार कोशी प्रदेशमा विद्युत् चुहावट नौ दशमलव ८७ प्रतिशत रहेको छ । 

बागमती प्रदेशमा विद्युत् चुहावट पाँच दशमलव ६० प्रतिशत चुहावट रहेको छ । त्यस्तै गण्डकी प्रदेशमा विद्युत् चुहावट सात दशमलव  ६७, लुम्बिनी प्रदेशमा आठ दशमलव ५९ र सुदूरपश्चिम प्रदेशमा ११ दशमलव ५० प्रतिशत रहेको छ । रासस






Leave a comment




Comments