- 15 November 2024
- २०८१-०७-३० (शुक्रबार)
काठमाडौं- धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये मंगलबार साँझबाट एउटामा समस्या आएको छ ।
दुईवटा ट्रान्सफर्मरबाट करिब ९० एमभिए भार (लोड) आपूर्ति भइरहेकामा एउटामा समस्या आएपछि ३० एमभिए लोड काटिएको छ । यसले गर्दा उक्त सबस्टेसनबाट आपूर्ति भइरहेका धनुषाको जनकपुरधाम, यदुकुवा, धनुषाधाम, सखुवा, महोत्तरीको जलेश्वर, गौशाला, बर्दिबास, सिन्धुलीको भिमानलगायतका क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको हो ।
प्राधिकरण मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले ट्रान्सफर्मर बिग्रिएका कारण प्रभावित भएको विद्युत् आपूर्तिलाई नियमित गर्न भारतको सुरसण्डबाट ३३ केभी प्रसारण लाइनबाट विद्युत् ल्याउन लागिएको बताए । सुरसण्ड-जलेश्वर लाइन नचलेको धेरै भएकाले अहिले लाइनको मार्गधिकारमा पर्ने रुख-बिरुवा काट्न थालिएको र शुक्रबारसम्म लाइन चालु गरी विद्युत् ल्याउने प्रयास भइरहेको ठाकुरले जानकारी दिए ।
प्राधिकरणको ढल्केबर ग्रिड महाशाखाका प्रमुख विनोद लोहनीले ट्रान्सफर्मरमा देखिएको समस्या समस्या समाधानका लागि उत्पादक कम्पनीसँग कुरा भइरहेको बताए । उनले निरन्तर पानी परिरहेकाले ट्रान्सफर्मर खोल्न समस्या भइरहेको र फल्ट पत्ता लागेमा एक दिनभित्रमा मर्मत हुनसक्ने बताए । यदि मर्मत नभएको खण्डमा अर्को ट्रान्सफर्मर ल्याएर जडान गर्नुपर्ने भएमा १० देखि १५ दिनसम्म लाग्ने उनले जानाकरी दिए ।