21 April 2025
२०८२-०१-०८ (सोमबार)
फिदिम- पाँचथरको जोरपोखरी–गोपेटार सडकखण्ड जोड्ने सडक खण्डहर बनेको छ । गत वैशाखमा कालोपत्रे गरिएको मेची राजमार्गको ताप्लेजुङ फिदिम खण्ड भत्किएपछि खण्डहर बनेको हो ।
गत असार पहिलो साता गरिएको कालोपत्रे उप्केर वर्षाको पानीसँगै बगेपछि यस सडकखण्डका अधिकांश स्थानमा सवारी र ढुवानीका साधन आउजाउ गर्न कठिनाइ भएको छ । साथै यो सडकखण्ड सवारीसाधन मात्र नभइ मान्छे समेत हिँड्डुल गर्न नसक्ने अवस्थामा पुगेको छ ।
फिदिमस्थित सञ्जीव निर्माण सेवाले ठेक्का लिएको यो सडक निर्माण गर्न सडक डिभिजन इलामले तीन करोड रुपैयाँ खर्चेको थियो । हिलिहाङ–७, सल्लेरीदेखि हिलिहाङ–३, गोपेटारसम्मको आठ किलोमिटर सडक कालोपत्रे गरिएकोमा जोरपोखरीदेखि गोपेटारबीचमा पर्ने करिब दुई किलोमिटर क्षेत्रमा समस्या आएको सडक डिभिजन इलामका साइट इन्जिनियर विपिन ढुङ्गानाले बताए ।
कालोपत्रे नसकिँदै बाटोमा छापिएको कालोपत्रे बग्नुका साथै छेउ भित्तामा ठुला ठुला खाल्डा परेका कारण यस क्षेत्रमा सवारी र ढुवानीका साधन चलाउन धेरै नै कठिन हुने गरेको चालक मोहन लिम्बूले बताए ।
स्थानीय कर्णश्याम लावतीले निर्माण व्यवसायी र अनुगमन गर्ने सडक डिभिजनको लापरबाहीले सडक यो अवस्थामा पुगेको बताए । उनले कालोपत्रे नसकिँदै सयौँ टन क्षमताका ट्रक र लोडर कुदाइएकाले पनि समस्या आएको उल्लेख गरे ।
कालोपत्रे गर्ने क्रममा अनुकूल सिमेन्ट र बालुवाको मात्रा नमिलाइएको र तुरुन्तै अधिक भार वहन क्षमताका ढुवानी साधन गुडाइएकाले सडकको यो हालत भएको स्थानीयको टिप्पणी छ ।
सडक डिभिजन इलाम र निर्माण व्यवसायीबिच भएको सम्झौतामा दुई सेन्टिमिटर मोटाइको कालोपत्रे गर्नुपर्ने उल्लेख छ । कालोपत्रे गर्न जिम्मेवारी लिएको सञ्जीव निर्माण सेवाका सञ्चालक वीरेन्द्र श्रेष्ठले कालोपत्रे गरिएलगत्तै अत्यधिक बर्सात भएका कारण जमिनमुनि पानी उम्रेर यो अवस्था आएको बताए । इन्जिनियर विपिन ढुङ्गाना चिसो भइरहने यो क्षेत्रमा कालोपत्रे गरेपछि पनि जमिनमुनिको पानी रसाएका कारण छिटो बिग्रेको दाबी गरे ।
कालोपत्रे भत्किनुका कारणबारे भौतिक योजना मन्त्रालयले प्राविधिक टोली खटाएर अध्ययन गरेको र अध्ययन प्रतिवेदन आएपछि मात्रै यकिन हुने उनको भनाइ छ । बिग्रिएको सडकखण्डको प्राविधिक मूल्याङ्कन गरेर भुक्तानी रोकेको र पुनः काम सकेपछि मात्रै फुकुवा गर्ने पनि ढुङ्गानाले स्पष्ट पारे । गोरखापत्र