04 May 2026
२०८३-०१-२१ (सोमबार)
काठमाडौं- विद्यार्थी प्रतिभा र नवप्रवर्तनलाई प्रोत्साहित गर्न सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्सले रोबो वार ब्याटल लिग सुरु गरेको छ । रोबो वारियर्स लिग २०२४/२५ नाम दिएर कलेजले आयोजना गरको ६ महिनासम्म चल्ने लिग हिजो आइतबारदेखि सुरु भएको छ ।
डिल्लीबजारस्थित कलेज परिसरमा सञ्चालन भएको लिगमा कलेजका विद्यार्थीहरूले निर्माण गरेका २४ भन्दा बढी रोबोटहरूलाई एकापसमा जुधाइने छ । ती रोबोट बनाउन विद्यार्थीहरूलाई प्रविधि, शिक्षालगायत अन्य क्षेत्रमा काम गरिरहेका कम्पनी तथा संघसंस्थाहरूले प्रायोजन गरेका छन् ।
जसमा डिजी स्कुल ग्लोबल, स्टोर हाउस नेपाल, हाम्रो खेलकुद, ग्लाम हाउस स्टुडियो, युके कलेज, क्वालिटी बीच रिसोर्ट, रामेश्वर इन्टेरियर्स, सनवे कलेज, अनलाइन ल्यापटप पसल, ब्रोडवे इन्फोसिस रहेका छन् ।
त्यसैगरी सेरेस अटोमोटिभ (एलएलआर), कोइराला साउण्ड्स एण्ड लाइट्स, हिमालयन ग्रुप, टेक एण्ड ट्रेन्डी, चाङ्गुनारायण नगरपालिका, श्रेय ग्रुप कन्सल्टेन्सी, डाँफेलिङ्क, भायानेट कम्युनिकेसन, होटल डायमण्ड प्यालेस, द फ्रेन्ड्स क्याफे, इन्स्टिच्युट अफ एनालिटिक्स (आईओए), युनिक्याम्पस ग्लोबल लगायतका कम्पनीले पनि विद्यार्थी समूहलाई सहयोग गरेका छन् ।
प्रतियोगितामा सहभागी प्रत्येक विद्यार्थी समूहले प्रायोजक कम्पनी तथा संस्थालाई प्रतिनिधित्व गर्ने छन् । यसले प्रतिस्पर्धालाई नवप्रवर्तन र ब्रान्डिङको सङ्गम बनाउने विश्वास लिइएको कलेजले जनाएको छ ।
कलेजले केही वर्षअघि आफ्नो प्रविधि मेलामा संलग्न गरेको यो प्रतियोगिता यस वर्षबाट भने छुट्टै कार्यक्रमका रूपमा आयोजना गरेको हो । यसमा कलेजका विद्यार्थीहरूको प्रतिभा अवलोकन गर्नुका साथै नवप्रवर्तनमा कलेजको उपलब्धि पनि देख्न सकिने छ ।
कलेज प्रमुख प्रमोद पोडेलका अनुसार यो लिग केवल प्रतियोगिता मात्र नभएर मनोरञ्जन सहितको व्यवहारिक सिकाइ हो । ‘यो प्रतियोगितामा विद्यार्थीहरूले रोबोटसँगको अनुभव लिने त छँदै छ,’ प्रमुख पौडेलले भने, ‘सँगै विभिन्न क्षेत्रको उद्योगहरूसँगको सहकार्यले उनीहरूले जीवन्त सीप पनि सिक्न पाउने अवसर पाउँछन् ।’
प्रतियोगितामा विद्यार्थीहरूले रोबोट जुधाउने मात्र नभएर उद्योगमा काम गरिरहेका मान्छेहरूसँग प्रत्यक्ष सम्बन्ध बनाउने, अनुभव बटुल्ने पनि अवसर प्राप्त गर्नेछन् ।
यो प्रतियोगिता अन्तिम चरणसम्म हरेक आइतबार कलेज परिसरमा हुने छ । रोबोटहरूको युद्ध हेर्नका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको कलेजले जनाएको छ । कलेजको फेसबुक र युट्युब च्यानलमार्फत पनि लिगको प्रत्यक्ष प्रसारण हुनेछ ।
लिगको विजेताले ३ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।