कति जनाले दिँदै छन् यो वर्षको आइओइ बी.ई./बी.आर्क इन्ट्रान्स?


Posted: Sept. 1, 2024
  Engineers Nepal

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान प्रवेश परीक्षा बोर्डले शैक्षिक वर्ष २०८१/२०८२ को स्नातक (बी.ई./बी.आर्क) तहको विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा आज देखि सुरु भएको छ ।

इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका आङ्गिक क्याम्पस तथा सम्बन्धनप्राप्त कलेजहरूमा शैक्षिक वर्ष २०८१/२०८२ का लागि स्नातक (बी.ई./बी.आर्क) तहका विभिन्न कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्यूटर विधिमार्फत प्रवेश परीक्षा सञ्चालन भइरहेको हो ।

यस प्रवेश परीक्षामा कुल ९ हजार ३ सय ६१ जना विद्यार्थीहरूले फारम भरेको त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान प्रवेश परीक्षा बोर्डले जनाएको छ । आज भदौ १६ गतेदेखि सुरु भएको परीक्षा भदौ २२ गतेसम्म सन्चालन हुने छ । बोर्डका अनुसार आज पहिलो दिन दुई सिफ्ट र अन्तिम दिन तीन सिफ्टमा परीक्षा सन्चालन हुने छ । भने, बीचका दिनहरूमा  चार/चार सिफ्टमा परीक्षा हुने छ ।

आज भएको परीक्षामा बिहानको शिफ्टमा ५ र साँझको सिफ्टमा १३ जना विद्यार्थीहरू अनुपस्थित रहेको बोर्डले जनाएको छ ।

प्रवेश परीक्षा इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत सञ्चालित ५ वटा आङ्गिक क्याम्पसहरू तथा १० सम्बन्धनप्राप्त कलेजहरू सन्चालन भइरहेका छन् । आङ्गिक क्याम्पसहरूमा पुल्चोक क्याम्पस पुल्चोक, ललितपुर, थापाथली क्याम्पस थापाथली, काठमाडौँ, पूर्वाञ्चल क्याम्पस धरान, पश्चिमाञ्चल क्याम्पस पोखरा र चितवन इन्जिनियरिङ क्याम्पस, रामपुर, चितवन रहेका छन् ।

यस्तै सम्बन्धनप्राप्त कलेजहरू कान्तिपुर इन्जिनियरिङ कलेज ललितपुर, काठमाडौँ इन्जिनियरिङ कलेज काठमाडौँ, हिमालय कलेज अफ इन्जिनियरिङ ललितपुर, एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट काठमाडौँ, नेशनल कलेज अफ इन्जिनियरिङ ललितपुर, काठफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट ललितपुर, जनकपुर इन्जिनियरिङ कलेज भक्तपुर, ख्वपः कलेज अफ इन्जिनियरिङ भक्तपुर, सगरमाथा इन्जिनियरिङ कलेज ललितपुर, ललितपुर इन्जिनियरिङ कलेज, ललितपुर रहेका छन् ।

 

 






Leave a comment




Comments