- 15 January 2025
- २०८१-१०-०२ (बुधवार)
काठमाण्डौ, मङ्सिर १२ । यातायातमा नँया प्रविधि 'पड–वे' अर्थात् माइक्रो रेल पनि नेपालमा मास ट्रान्सपोर्टेसनको विकल्प बन्न सक्ने अनुमान गरिएको छ । यो प्रविधि सबैभन्दा सस्तो र नेपालको भूगोल सुहाउँदो भएकाले पनि उपयुक्त हुने दाबी निजी क्षेत्रको छ। पड–वेमार्फत् एक घण्टामा ५० हजार मानिस ओहोरदोहोर गराउन सकिन्छ।
सरकारले पनि पड–वे, स्काई–रेल, स्काई–ट्रलिबस जस्ता वैकल्पिक यातायातसम्बन्धी नवीन प्रविधि पहिचान अध्ययन गर्ने उल्लेख गरेको छ। यही मंसिर ७ गतेको राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले यी प्रविधि सञ्चालनका लागि कानुन तथा मापदण्ड बनाउने उल्लेख गरेको छ।
राष्ट्रिय योजना आयोगले बनाइरहेको १६ औं आवधिक योजनामा पनि पड–वे समेटिने विश्वास आयोगका अधिकारीहरूले दिलाएको काठमाडौं पड–वे कम्पनी प्रालिका उपाध्यक्ष नील भट्टराई बताउँछन्।
आयोगले १६ औं योजनाको अवधारणा पत्रमा गुणस्तरीय पूर्वाधार र व्यवस्थित सहरीकरण विषयलाई प्राथमिकताका साथ राखेको छ। यसैअन्तर्गत वातावरणमैत्री, दिगो र प्रतिफलयुक्त पूर्वाधार निर्माणमा जोड दिने विषय उठाइएकाले पड–वे पनि समेटिने विश्वास कम्पनीका उपाध्यक्ष भट्टराईले व्यक्त गरे।