संखुवासभामा निर्माण भएको २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा


Posted: Nov. 27, 2023
  Engineers Nepal

कोसी कोरिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट २४५० मिटर उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको हाे ।

आयोजना अन्तर्गतनै सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङ्टार तथा बानेश्वर २२० केभी सबस्टेसन गत वर्षको साउनबाटै सञ्चालित छन् । सबस्टेसनहरू निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग २०७५ असारमा २ करोड ६१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोसी प्रदेशका ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लामा निजी क्षेत्रले निर्माण गर्ने र गरिरहेका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको बताए ।

‘प्रसारण लाइन र सबस्टेसन तयार भयो, तर जलविद्युत् आयोजनाहरू निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउने पर्ने अवस्था छ’, उनले भने, ‘कोसी प्रदेशका पहाडी जिल्लाहरूमा उत्पादित विद्युत् इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरी जिल्ला आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि उत्पादन स्रोत भएको छ जसले गर्दा भोल्टेज सुधार भई विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।’

वसन्तपुर सबस्टेसनमा तुम्लिङ्टार र ताप्लेजुङको ढुङ्गेसाँघु सबस्टेसनबाट विद्युत् आउने छ । वसन्तपुरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फ मात्र तार तानेर लाइन सञ्चालनमा ल्याइएको छ ।

वसन्तपुरबाट बानेश्वर हुँदै तुम्लिङ्टारसम्म करिब ३० किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किट निर्माण सम्पन्न भइसकेको छ । इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनको लम्बाइ १०५ किलोमिटर छ । डबल सर्किट टावर निर्माण गरिएको छ भने हाल सिंगल सर्किट तार मात्र तानी लाइन सञ्चालनमा  ल्याइएको छ ।

नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा कोसी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिङ्टार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो ।






Leave a comment




Comments