चाँदनी दोधारामा पाँच अर्ब ७५ करोड रुपियाँ लागतको आइसिपी निर्माण गर्न डिपिआर तयार


Posted: Nov. 22, 2023
  Engineers Nepal

काठमाडौँ, मङ्सिर ६ गते  । पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । 

भारत सरकारले आइसिपी निर्माणका लागि डिपिआर तयार गरेर पठाएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । आइसिपी निर्माणका लागि भारत सरकारले नै ठेक्का प्रक्रिया अगाडि बढाउने छ । 

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आइसिपी निर्माण भएपछि सुदूरपश्चिमको निर्यात व्यापार प्रवर्धनमा सहयोग हुने उनले जानकारी दिए ।

सुुदूरपश्चिममा न्यून आयात निर्यात हुने गरेकामा आइसिपी निर्माण भएपछि यस क्षेत्रको व्यापार बढ्न सक्ने अनुमान गरिएको उनले जानकारी दिनुभयो । भारतको गुजरात, दिल्ली नजिक पर्ने हुँदा आइसिपी प्रयोग गरेर निर्यात बढाउन सकिने गजुरेलले जानकारी दिए । 

पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा आइसिपी निर्माण हुन लागेको हो । लागत खर्च भारत सरकारले बेहोर्ने छ । आइसिपी निर्माण भएपछि व्यापार र लागत दुवै घट्ने बताइएको छ ।

४० हेक्टर क्षेत्रफल रहेको जग्गामा निर्माण हुन लागेको आइसिपीमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायतका अन्य पूर्वाधार रहने छन् ।

२२० ट्रक अट्ने पार्किङ, प्यासेन्टर टर्मिनल अफिस निर्माण हुने छ । कोल्ड स्टोरेज, यात्रु शाखासमेत आइसिपीभित्र रहने छ । आइसिपी एकै चरणमा निर्माणको काम गर्ने भारतको योजना रहेको समितिले जनाएको छ । 

-गोरखापत्र 






Leave a comment




Comments