04 May 2026
२०८३-०१-२१ (सोमबार)
काठमाडौँ, मङ्सिर ५ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय संसद्को आगामी अधिवेशनमा सहयोगापेक्षी सडक आश्रित मानवको समुचित व्यवस्थापन गर्नेसम्बन्धी विधेयक पेस गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले ‘यो वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नारासाथ मानव सेवा आश्रमले आयोजना गरेको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको समापन समारोहलाई सम्बोधन गर्दै विधेयक ल्याउने बताएका हुन् ।
उनले सङ्घ, प्रदेश र स्थानीय सरकारले सहयोगापेक्षी सडक मानव व्यवस्थापन गर्न आआफ्नो तहबाट कार्यक्रम तथा बजेट विनियोजन गर्न आवश्यक पहल तथा समन्वय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मानव सेवा आश्रमलाई सरकारी तथा सार्वजनिक जग्गा, भवनको प्रयोग तथा संरचना निर्माण, उद्धार वाहनलगायत अत्यावश्यक सेवामा सहयोग गर्न नेपाल सरकार प्रतिबद्ध छ ।”
प्रधानमन्त्री प्रचण्डले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्न तथा सरकारले घोषणा गरेको नीतिको प्रभावकारी कार्यान्वयन गर्न एक महिनाभित्रै मन्त्रीपरिषद्बाट कार्ययोजना स्वीकृत गरी अघि बढ्ने गरी पहल लिने पनि बताए ।
प्रधानमन्त्री प्रचण्डले सत्कार्य र मानव सेवाका लागि सङ्कल्प गर्नुपर्ने बताउनुभयो । मानव सेवा आश्रमका तर्फबाट प्रस्तुत वृत्तचित्र हेरेपछि उहाँले मानव सेवाका लागि सामाजिक संस्थाले गरिरहेका प्रयासलाई सार्थक बनाउन सरकारको सहयोग हुने प्रस्ट पारे ।
उनले सोमबार बिहान मानव सेवा आश्रमका पदाधिकारीसँग भेटेपछि अर्थमन्त्री डा. प्रकाशशरण महत र मुख्यसचिव डा. वैकुण्ठ अर्यालसँगको छलफलमा नीतिगत निर्णय लिइएको बताए ।
प्रधानमन्त्री प्रचण्डले देशका सात वटै प्रदेशमा आफ्नो शाखा तथा सेवा केन्द्र सञ्चालन गरी खुला आकाशमुनि रहेका सात हजारभन्दा बढी सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार, उपचार, पालनपोषण तथा परिवार भेटिएका वा भेटिन सम्भव नभएकाको परिवारको खोजी गरी परिवारमा पुनर्मिलन, आश्रममा उद्धार, उपचार, गाँस बासको प्रबन्ध गर्दै देशलाई नै सडक मानवमुक्त नेपाल घोषणा गर्ने मानव सेवा आश्रमको आकाङ्क्षा, सङ्कल्प र पहलको प्रशंसा गरे ।
उनले मुठीदान, जन्मदिन, विवाह वर्षगाँठ, उत्सव, वार्षिकोत्सव, पदोन्नति, विभिन्न पर्व र मानव सेवाको भावना भएको जनसमुदायको सहयोगबाट देशैभरि यति धेरै संरचना, सहयोगापेक्षी नागरिकको उद्धार, उपचार र जीविकोपार्जन र अभियन्ता परिचालन गर्ने कार्य प्रेरणादायी भएको बताउनुभयो ।
आनी छोइङ डोल्मा प्रतिष्ठानका अध्यक्ष एवं गायिका आनी छोइङ डोल्मा, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, मानव सेवा आश्रमका प्रमुख संस्थापक एवं अध्यक्ष रामजी अधिकारीले मानव सेवाको पथमा लाग्नु सर्वोत्तम सेवा भएको बताए ।
अध्यक्ष अधिकारीले मानव सेवा आश्रमले असोज २६ देखि मङ्सिर ४ गतेसम्म ३०४ जनाको उद्धार गरेको बताए। जब ‘इमानसिंह’ मञ्चमा उत्रिए प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न राजनीतिक दल, कलाकार र विभिन्न क्षेत्रका अग्रजको उपस्थिति रहेको कार्यक्रममा लमजुङका ‘इमानसिंह गुरुङ’ मञ्चमा आउनुभयो । बैसाखीको सहारामा मञ्चमा ‘इमानसिंह’ को भूमिकामा कलाकार मनोज गजुरेल आउनुभएको थियो ।