साढे दुई करोडको लागतमा खानेपानी योजना निर्माण सुरु


Posted: Nov. 21, 2023
  Engineers Nepal

मकवानपुर, मङ्सिर ५ गते । वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका उत्तरी मकवानपुरको थाहा नगरपालिका–१२, लितीका बासिन्दालाई लक्षित गरी लिती खानेपानी आयोजना निर्माण सुरु भएको छ ।

थाहा नगरपालिका, मानवीय सेवा तथा अन्तरसांस्कृतिक आदानप्रदान केन्द्र (च्वाइस नेपाल) नामक संस्था र स्थानीयको श्रमदानमा डेढ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने गरी निर्माण सुरु भएको हो ।

‘एक घर एक धारा’ अवधारणा अनुसार २०५ घरलाई लक्षित गरी खानेपानी आयोजना निर्माण सुरु भएको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए। उनका अनुसार वडाका सबै विद्यालय, सामुदायिक संस्था र व्यक्तिगत गरी २२१ वटा धारा जडान गर्ने योजना रहेको छ ।

दिगो विकास लक्ष्यको बुँदा नम्बर ६ सँग आधारित भई ‘एक घर एक धारा’ अभियान अन्तर्गत आयोजना निर्माण सुरु भएको भन्दै सूचना अधिकारी भुजेलले साझेदारीमा खानेपानी योजना निर्माण सम्पन्नपश्चात् थाहा नगरपालिकामा हस्तान्तरण हुने बताए । 

अधिकांश तामाङ समुदायको बसोबास रहेको क्षेत्रमा आयोजना सञ्चालन हुन लागेको हो । लिती, नयाँ बस्तीलगायत वडा नं. १२ का बासिन्दा लाभान्वित हुने गरी निर्माणाधीन आयोजनाको निर्माण लागत थाहा नगरपालिका, च्वाइस नेपाल र स्थानीय जन श्रमदान गरी दुई करोड ५९ लाख ९० हजार ५०८ रुपियाँ रहेको छ । दुई आर्थिक वर्षमा थाहा नगरपालिकाको कुल ६० लाख रुपियाँ लागत साझेदारी रहने भएको छ ।

-गोरखापत्र






Leave a comment




Comments