भूकम्प पीडितहरूको अस्थायी आवास निर्माण प्रक्रिया सुरु


Posted: Nov. 20, 2023
  Engineers Nepal

रुकुम पश्चिम, मङ्सिर ४ गते । रुकुम पश्चिममा भूकम्प पीडित घरपरिवारका लागि अस्थायी आवास निर्माणको प्रक्रिया सुरु भएको छ । सरकारले अस्थायी आवास निर्माणका लागि सहयोग गर्ने निर्णय गरेसँगै स्थलगत रूपमा क्षतिको विवरण सङ्कलन सुरु भएको छ भने प्रभावित क्षेत्रमा स्वतःस्फूर्त रूपमा पनि अस्थायी आवास निर्माणको काम सुरु भएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले अस्थायी आवास निर्माणको प्रक्रिया सुरु गरिसकेको बताए । त्यसका लागि क्षतिको वास्तविक विवरण जिल्लाका छ वटै स्थानीय तहमा माग गरिएकोले छ । वडा कार्यालय मार्फत प्राप्त विवरण स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय भई मङ्सिर पहिलो साताभित्र जिल्ला विपद् व्यवस्थापन समितिमा आई पुग्ने छ । सोही विवरणको आधारमा अस्थायी आवास निर्माणको लागि सहयोग गरिने प्रजिअ पन्तले जानकारी दिए । 

उनका अनुसार कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित व्यक्तिहरूको तत्काल अस्थायी आवास निर्माणका लागि ५० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । पूर्ण क्षति भएका र आंशिक क्षति भए तापनि बसोबास गर्न योग्य नरहेका घरपरिवारलाई उक्त सहयोग गरिने प्रजिअ पन्तले बताए । 

अस्थायी आवास निर्माणको काममा सर्वदलीय संयन्त्रमार्फत समझदारी तथा सहयोग जुटाउन र क्षतिको विवरण पठाउन पत्राचार गरिएकोले उक्त विवरण आउने बित्तिकै विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहमा अस्थायी आवास निर्माण खर्च पठाइनेछ । जिल्ला विपद् व्यवस्थापन समितिमा प्राप्त क्षतिको प्रारम्भिक तथ्याङ्क अनुसार रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण र नौ हजार ९६१ वटा घरमा आंशिक क्षति भएको छ । यो सङ्ख्या बढ्न सक्ने बताइएको छ । 

-गोरखापत्र






Leave a comment




Comments