सात वर्ष बित्दा पनि बनेन कालिगण्डकीको पुल, ठेकेदार सम्पर्क विहीन


Posted: Nov. 19, 2023
  Engineers Nepal

म्याग्दी, मङ्सिर ३ गते । ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण मुस्ताङको कालिगण्डकी नदीमा निर्माणाधीन पुल अलपत्र परेको छ । पाँच वर्ष अघि नै निर्माण सम्पन्न हुनुपर्ने थासाङ गाउँपालिकाको छयो–कुञ्जो जोड्ने मोटरेबल पुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत छ । समयमै पुल निर्माण नहुँदा करिब ६०० जनसङ्ख्या प्रभावित भएका छन् । 

पटक पटक ठेक्का सम्झौताको म्याद थप भए पनि पुल निर्माण गर्न ठेकेदारले वेवास्ता गर्दै आएको स्थानीयवासीको भनाई छ । समयमै पुल निर्माण सम्पन्न नहुँदा आवतजावतमा समस्या भएको स्थानीयवासी वीर विक्रम विकले बताउनुभयो । कालिगण्डकी कोरिडोर सडक देखि थासाङ गाउँपालिका वडा नम्बर ५ कुञ्जोलाई जोड्न ७ वर्ष अघि मोटरे बल पुल निर्माण थालिएको थियो । 

एक सय मिटर लामो केवल स्टेट प्रविधिको मोटरे बल पुल निर्माणका लागि वि.स. २०७३ भदौ २२ गते तिन वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी तत्कालीन जिल्ला विकास समिति मुस्ताङ र स्वच्छन्द निर्माण सेवाबिच  ठेक्का सम्झौता भएको थियो । 

निर्माण अवधिसँगै लागत पनि बढेर पछिल्लो पटक भेरियस अर्डर गरी  १४ करोड १९ लाख ६५ हजार ८सय ८१ रुपियाँ पुगेको छ । पुलको दुवै तर्फ पिल्लर निर्माण गरिएको छ भने बाँकी काम अलपत्र अवस्थामा छ । 






Leave a comment




Comments