03 December 2023
२०८०-०८-१७ (आइतबार)
दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको सिमानामा रहेको तामाकोशी नदीमा पक्की पुल बनाउने काम अलपत्र परेको छ । २०७३ सालमा आठ करोड ४५ लाख १० हजार रुपियाँमा ठेक्का सम्झौता भएको यो पुल यस क्षेत्रको मुख्य राजमार्ग लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत पर्छ ।
फुटपाथसमेत ११ मिटर चौडाइ र ७५ मिटर लम्बाइको यो पुल पिल्लर उठाएर छोडिएको छ ।
यस क्षेत्रका चार वटा स्थानीय तहलाई सदरमुकामसम्म जोड्ने र आधा दर्जन जलविद्युत् आयोजनाको सामान ढुवानी हुने यो राजमार्गमा पक्की पुल नबन्दा अहिले जीर्ण अवस्थामा रहेको पुरानो पुलबाटै यातायात सञ्चालन गर्नुपर्ने बाध्यता छ । आयु सकिसकेकाले जीर्ण पुल कुनै पनि बेला ढल्न सक्ने जोखिम छ ।
दोलखा जिल्लाको सदरमुकाम चरीकोट हुँदै मैनापोखरी, जिरी, तामाकोशी, रामेछापको सदरमुकाम मन्थली ओहोरदोहोर गर्ने तामाकोसी पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले सात वर्षदेखि पुललाई अलपत्र पारेको स्थानीय राजनकुमार दाहालले बताए ।
निर्माण कम्पनीले हालसम्म पुलको जग र पिल्लरबाहेक अन्य संरचना बनाउन सकेको छैन । दाहालले भने, “चरीकोट–जिरी सडकसँगै निर्माण होला कि भन्ने आशा गरेको पुल सडक निर्माण सकिएको तीन वर्ष बितिसक्दा पनि अझै अलपत्र अवस्थामा छ । २०७४ सालमा ठेक्का सम्झौता भएको चरीकोट–जिरी ५५ किलोमिटर सडक २०७८ सालमै निर्माण सम्पन्न भयो । सडकभन्दा ठिक एक वर्षअघि ठेक्का सम्झौता भएको पुल अझै निर्माण हुन नसक्दा जोखिम मोलेरै ठुला सवारीसाधन ओहोरदोहोर गराउनु परेको छ ।”
कोरोना महामारीबाट पुल निर्माण प्रभावित बनेको भन्दै दुई पटक समय थप गरिदिँदासमेत अझै पुल निर्माण हुन सकेको छैन । ठेकेदार कम्पनी मिलगिरी नेसनल जेभी सम्पर्कविहीन छ ।
-गोरखापत्र