21 April 2025
२०८२-०१-०८ (सोमबार)
काठमाडौँ-तराई/मधेश द्रुतमार्गमा ‘हाइब्रिज’ का लागि अग्ला खम्बा निर्माण भइरहेका छन् ।
आयोजनाका अनुसार धरहराको भुइँ सतहदेखि गजुरसम्म कुल उचाइ ७८ मिटर रहेकोमा दु्रुतमार्गमा निर्माण हुने ‘हाइब्रिज’ मा ८२ मिटरसम्मका खम्बा निर्माण भइरहेका छन् ।
काठमाडौँ–तराई मधेश द्रुतमार्ग आयोजना, सडक निर्माण कार्यदल बेसक्याम्प लेनडाँडाका प्राविधिक प्रमुख सेनानी विनोद श्रेष्ठले द्रुतमार्गमा पुलको काम धमाधम भइरहेको बताए ।
उनले पुलका लागि ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज एकदेखि पाँचसम्म ४५ वटा पुलका लागि कुल एक हजार ७६८ पाइलमध्ये एक हजार १७५ वटा पाइलको काम सम्पन्न भएको बताए ।
आयोजना अन्तर्गत निर्माण गरिने ८९ वटा पुलको कुल लम्बाइ १२.८८५ किलोमिटर हुने छ ।
आयोजनाका ११ क्लस्टर अन्तर्गतका कुल १३ वटा निर्माण प्याकेजमध्ये प्याकेज एकदेखि सातसम्मका प्याकेज निर्माणाधीन अवस्थामा छन् । अरू प्याकेजको भने ठेक्का लगाउन बाँकी छ । आयोजनाका अनुसार प्याकेज नम्बर ८ ‘क’ तथा ९ ‘क’ र ‘ख’ का लागि गत असार २८ गते ठेक्का आह्वान गरिएको र अहिले मूल्याङ्कन प्रक्रिया चलिरहेको छ ।
द्रुतमार्ग आयोजना अन्तर्गत जग्गा अधिग्रहणको काम भने अझै सकिएको छैन । आयोजनाका अनुसार अहिलेसम्म ललितपुरको खोकनालगायत विभिन्न ठाउँमा गरी ४०६ रोपनी जग्गा अधिग्रहण गर्न बाँकी छ ।
आयोजनाका लागि कुल १५ हजार ४१६ रोपनी जग्गा आवश्यक पर्नेमा त्यसमध्ये १० हजार २४४ रोपनी सार्वजनिक जग्गा हो ।
निजी चार हजार ७६६ रोपनी जग्गाको मुआब्जा वितरण गरिसकिएको आयोजनाले जनाएको छ । खोकना क्षेत्रका जग्गाधनीले मुआब्जा लिइसकेका छन् तर केहीले भने पुरानै दरमा मुआब्जा लिन मानेका छैनन् ।
पछिल्लो पटक आयोजनाको समय २०८३ चैतसम्म थपिएको छ । अहिलेसम्म आयोजनाको भौतिक प्रगति २७.१९ प्रतिशत छ । आयोजनाको लागत दुई खर्ब ११ अर्ब ९३ करोड रुपियाँ रहेको छ ।
२०७४ वैशाख २१ गतेको मन्त्रीपरिषद् बैठकले द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७४ जेठ १४ गते दु्रतमार्गको शिलान्यास गरेका थिए । गोराखपत्रबाट