इन्जिनियरिङमा अब्बल एक्मी


Posted: Nov. 10, 2023
  Engineers Nepal

इन्जिनियरिङमा अब्बल कलेज हो, एक्मी । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर २०५७ सालदेखि यो कलेजमा अध्यापन सुरु भएको हो । काठमाडौंको  सितापाइला चोकनजिकै रहेको यस कलेजमा विद्यार्थीका लागि यातायातको राम्रो सुविधा छ । 

स्नातकमा तीन र स्नातकोत्तरका दुई कार्यक्रम 

एक्मी कलेजमा स्नातक तहका तीनवटा र स्नातकोत्तरका दुई कार्यक्रम सञ्चालनमा छन् । स्नातकमा ब्याचलर्स इन सिभिल इन्जिनियरिङ, ब्याचलर्स इन कम्प्युटर इन्जिनियरिङ र ब्याचलर्स इन आर्किटेक्चर छ । ‘यो कोर्स एक्मीमा दिउँसो सञ्चालन हुन्छ । बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कक्षा सञ्चालन हुने एक्मीका प्रधानाध्यापक प्रदीप कुमार पौडेलले जानकारी दिए । एक्मीमा हप्ताको पाँचदिन कक्षा हुन्छ भने शनिबार र आइतबार बन्द हुन्छ । 

स्नातकोत्तरमा एमएस्सी इन इन्जिनियरिङ म्यानेजमेन्ट (सिभिल र आर्किटेक्चर विद्यार्थीका लागि) र एमएस्सी इन इन्फर्मेसन सिस्टम इन्जिनियरिङ (कम्प्युटर र इलेक्ट्रोनिक्स विद्यार्थीका लागि) गरी दुईवटा छन् । ‘यो कोर्सका लागि बेलुका साढे ५ देखि साढे ८ बजेसम्म कक्षा सञ्चालन हुन्छ । दिउँसो काम गरिरहेका विद्यार्थीले साँझमा कक्षा लिन पाउँछन्,’ प्रधानाध्यापक पौडेलले भने । 

उत्कृष्ट शिक्षक

तीनवटै कोर्स पढाउनका लागि अनुभवी शिक्षक एक्मीमा छन् । विषयविज्ञ शिक्षकहरू भएकाले गुणस्तरीय  शिक्षामा कुनै शंका छैन । समयसमयमा बाहिरबाट ‘एक्सपोर्ट’ शिक्षक ल्याएर पनि एक्मीले अतिरिक्त कक्षा सञ्चालन गर्ने गरेको छ ।

सिभिल इन्जिनियरिङमा सेफ्टी इन्जिनियरिङका बारेमा बाहिरबाट विज्ञ बोलाएर तालिम हुने गरी कक्षा  सञ्चालन गरिरहेको छ । ‘यसका लागि परीक्षा फारम भर्नुपर्छ र अनलाइन परीक्षा दिनुपर्छ,’ प्रधानाध्यापक पौडेलले भने, ‘यो जाँचपास गरेपछि सेफ्टी इन्जिनियरिङको बेग्लै सर्टिफिकेट पाइन्छ ।’

यो सेफ्टी एक्सपर्टको बेग्लै सर्टिफिकेट यूकेबाट प्राप्त हुने उनले बताए । ‘ब्याचलर्स गर्दा सेफ्टीको सर्टिफिकेट पाइन्छ । यसले विश्वव्यापी मान्यता पाएको छ । यसरी कलेजले पढ्ने क्रममा पनि तालिम दिइरहेका हुन्छ । यसले विद्यार्थीलाई सिकाइमा थप मद्दत पुग्ने गरेको छ । एक्मीले नेपालमा यो पहिलोपटक सुरुवात गरेको हो,’ प्रधानाध्यापक पौडेलले भने । 

सिभिल इन्जिनियरिङमा पढ्ने विद्यार्थीको कोर्स सकिएपछि प्राक्टिकलका लागि फिल्डमा के गर्नुपर्छ भनेर एक हप्ताको तालिम एक्मीले दिन्छ । जसले गर्दा फिल्डमा पूर्ण आत्मविश्वासका साथ आत्मनिर्भर भएर काम गर्न सहयोग मिल्छ ।  ‘हरेक सेमेस्टरमा विज्ञहरू बोलाएर गेस्ट लेक्चरको व्यवस्था गरिन्छ । प्रत्येक सेमेस्टरमा कम्तीमा पनि आठ जना गेस्ट लेक्चरर हुन्छन् । एक्मीले सिभिल कोर्सलाई बढी जोड दिएको छ,’ उनले भने ।  

पूर्वाञ्चल विश्वविद्यालयको विशेषता भनेको लेटेस्ट सिलेबसबाट पठनपाठन सञ्चालन गर्नु रहेको उनी बताउँछन् । ‘आजभन्दा दुई वर्षअघि मात्रै अपडेट गरिएको सिलेबसबाट पढाइ भइरहेको छ । नेपालमा सबैभन्दा लेटेस्ट सिलेबस प्रयोगमा ल्याउने भनेको पूर्वाञ्चल विश्वविद्यालय हो,’ उनले भने । 

सिभिलमा जोड

पूर्वाञ्चल विश्वविद्यालयले सिभिल इन्जिनियरिङका विद्यार्थीका लागि तीनमहिने इन्टर्नसिपको प्रावधान राखेको छ, जुन नेपालमै नौलो प्रयास हो । यसले विद्यार्थीहरू उत्तीर्ण हुनासाथ फिल्डमा गएर काम गर्ने क्षमता राख्छन् । 

सिभिलको सम्भावनाको कुरा गर्दा अहिले बजारमा कन्स्ट्रक्सनको काम कम भएर रोजगारी कम भयो भन्ने छ । ‘आज भर्ना हुने विद्यार्थीहरू एक हप्ता वा महिनामा इन्जिनियर बन्ने होइन । कम्तीमा पनि चार वर्ष कुर्नुपर्ने हुन्छ । चार वर्षको बीचमा सिभिल इन्जिनियरिङमा ठूलो अवसर देखिन्छ,’ उनले भने । 

हाइड्रोपावरहरू बनिरहेकाले दक्ष जनशक्ति आवश्यक रहेको उनको दाबी छ । ‘१० हजार मेगावाट विद्युत् भारतले किन्ने सम्झौता गरिसकेको छ । ८÷१० हजार मेगावाट बिजुली नेपाललाई पनि चाहिन्छ । यो हाइड्रोपावर मात्रै बन्ने हो भने नेपालमा उत्पादन भइरहेको इन्जिनियरिङको संख्याले त्यहाँको आवश्यकतालाई परिपूर्ति गर्न गाह्रो छ । विदेशबाट पनि ल्याउनुपर्ने हुन सक्छ । यसरी अबको तीन÷चार वर्षमा सिभिल इन्जिनियरिङको राम्रो अवसर देखिएको छ,’ उनले भने ।

कम्प्युटर इन्जिनियरिङको क्षेत्र फराकिलो

दोस्रो, कम्प्युटर इन्जिनियरिङको क्षेत्र बढिरहेको छ । भर्खरै सार्वजनिक भएको तथ्यांकअनुसार आईटी सेक्टरले नेपालको कुल जीडीपीमा १.४ प्रतिशत योगदान गरिरहेको छ । 

‘नेपालमा आईटीको बजार कति छ भन्ने यसले देखाउँछ । आईटी क्षेत्रमा काम गरिरहेका जति पनि कम्पनी सम्पर्कमा छन्, त्यहाँ जनशक्तिको अभाव छ,’ उनले भने, ‘कम्पनीहरू खोजिरहेका छन् । यहाँका संस्थानहरूले उत्पादन गरेका इन्जिनियर नेपाललाई नै नपुग्ने अवस्था छ ।’ नेपालमा अवसरको क्षेत्र फराकिलो रहेको उनको भनाइ छ । ‘नेपालमा अवसर धेरै राम्रो छ । विद्यार्थीहरू पनि निकै आकर्षित छन्,’ प्रधानाध्यापक पौडेलले भने । 

आर्किटेक्चर ‘हटकेक’ कार्यक्रम

कलेजको अर्काे कार्यक्रम हो ब्याचलर्स इन आर्किटेक्चर । अहिले ‘हटकेक’ कार्यक्रमका रूपमा अघि बढिरहेको उनले बताए । 
‘उत्तीर्ण भएका विद्यार्थी कोही पनि बेरोजगार बस्नुपरेको छैन । बजारमा एक्मीमा आर्किटेक्चर पढेका विद्यार्थीको खोजी भइरहेको छ,’ प्रधानाध्यापक पौडेलले भने, ‘बेलाबेला कम्पनीहरूबाट कलेजलाई अनुरोध आउँछ, आर्किटेक्चर पठाइदिनुप¥यो भनेर । तर, कहिलेकाहीँ कलेजले पासआउट भएकाबाट फेला पार्न गाह्रो पर्छ । सबै जागिरे भइसकेका हुन्छन् ।’

कलेज भर्नाको प्रक्रिया

१२ कक्षा उत्तीर्ण भएका विद्यार्थी भर्ना हुन पाउँछन् । अहिले भर्नाको समय पनि हो । पूर्वाञ्चल विश्वविद्यालयले भर्नाको अनलाइन फाराम खुला गरिसकेको छ । अब भर्ना गर्दा पूर्वाञ्चल विश्वविद्यालय वा एक्मी इन्जिनियरिङ कलेजको वेबसाइटमा गएर हेरेमा भर्ना फारम पाइन्छ । अनलाइनबाटै फारम भर्न मिल्छ । 

‘फाराम भरिसकेपछि विश्वविद्यालयले मिति तोक्छ, त्यो मितिमा लिखित परीक्षा दिनुपर्छ । पास मात्र भए पनि भर्ना गर्न पाइन्छ,’ उनले भने । 

छात्रवृत्तिको अवसर

विश्वविद्यालयअन्तर्गतका सबै कलेजहरूमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति छुट्याइएको छ । ‘एउटा जेहेनदार छात्रवृत्ति र अर्काे वर्गीकृत छात्रवृत्ति छ । वर्गीकृत छात्रवृत्ति आरक्षण समुदाय, दुर्गमबाट आएको, सरकारी विद्यालय पढेको, एकल महिलाको सन्तानका लागि हो,’ प्रधानाध्यापक पौडेलले भने । 

स्थानीय तहका कर्मचारीबाट प्रमाणित पुष्टि हुने प्रमाणपत्रका आधारमा छात्रवृत्ति उपलब्ध गराइने उनले बताए । ‘प्लस टुमा प्राप्त गरेको अंक र इन्ट्रान्समा प्राप्त गरेको अंकलाई समेत हेरेर टप ५ प्रतिशतमा पर्नेले चार वर्षको ब्याचलर इन्जिनियरिङ कोर्स निःशुल्क पढ्न पाउँछ,’ उनले भने ।  

अर्काे ५ प्रतिशत जेहेनदार भनेको इन्ट्रान्सको हाई ¥याङकिङको आधारमा विश्वविद्यालयले निकालेको नतिजाअनुसार कलेजमा कति जना विद्यार्थी जुन विषयमा भर्ना हुन्छन्, त्यो विषयमा विद्यार्थी संख्याको ५ प्रतिशतले पहिलो सेमेस्टरमा छात्रवृत्ति पाउँछन् ।

‘पहिलो सेमेस्टरमा राम्रो गर्ने विद्यार्थीमध्ये ५ प्रतिशतले सेकेन्ड सेमेस्टरमा छात्रवृत्ति पाउँछ । सेकेन्ड राम्रो गर्नेले थर्डमा पाउँछ । यसरी हरेक सेमेस्टरमा परिमार्जन हुँदै जान्छ । राम्रो नतिजा ल्याउनेले पाउँछ,’ प्रधानाध्यापक पौडेलले भने ।

उनका अनुसार यो छात्रवृत्ति पाउने विद्यार्थीको सेमेस्टरको ८० प्रतिशत शैक्षिक शुल्क मिनाहा हुन्छ । ‘वर्गीकृतको हकमा भने एकपटक पाएपछि चारै वर्षसम्म निरन्तर रहन्छ । यसले पनि विद्यार्थीको आकर्षण बढाएको छ,’ उनले भने ।

सुधार हुँदै छ पूर्वाञ्चल विश्वविद्यालय

पूर्वाञ्चल विश्वविद्यालयप्रति विद्यार्थी वा अभिभावकबाट केही गुनासोहरू थिए । समयमा परीक्षा नहुने, समयमा नतिजा प्रकाशन नहुने भन्ने अहिले पनि सुनिन्छ । ‘अहिले यस्ता घटनाहरू विगतमा थिए भन्ने स्थिति बनेको छ । अहिले निकै सुधार भएको छ । यस वर्षदेखि पूर्वाञ्चल विश्वविद्यालयले परीक्षा प्रणाली पूर्ण रूपमा अनलाइनमा लिएर जाने भनेर कार्यक्रम सुरु गरिसकेको उनले बताए ।

परीक्षा फाराम भर्नेदेखि रिजल्ट निकाल्नेसम्म सबै अनलाइनबाटै हुन्छ । ‘अहिले परीक्षा समयमा भइरहेको छ, तर नतिजामा भएको ढिलाइलाई सुधार गर्न पूरै आईटीमा गएको अवस्था छ,’ उनले भने, ‘टेक्नोलोजी प्रयोग गरेर व्यवस्थित गरिसकेको छ । आउँदा दिनहरूमा यस्ता गुनासोहरू गर्ने स्थिति बाँकी रहनेछैन ।’

कलेज छनोट गर्दा विद्यार्थीले के कुरामा ध्यान दिने ?

कलेज छनोट गर्दा लहैलहैमा वा पछाडि लागेर कलेजहरू नरोज्न प्रधानाध्यापक पौडेलको सुझाव छ । ‘जहाँ अध्ययन गर्न चाहनुहुन्छ त्यो क्षेत्रको कलेज भिजिट गर्नुपर्छ ।  कलेजमा आफैँ जानुपर्छ । शिक्षक, कर्मचारी मात्र होेइन, पढ्ने विद्यार्थीसँग पनि कुरा गर्नुपर्छ,’ उनले भने ।  कलेजको प्रयोगशाला र पुस्तकालयको अवस्था पनि हेर्न विद्यार्थीलाई उनको सुझाव छ । 

ब्याचलर्सपछि मात्र विदेश

स्नातक तहको अध्ययन नेपालमै गरेर मात्र विदेश जान उनको उनको सुझाव छ । विद्यार्थीको रोजाइमा विदेश पर्ने गरेकाले स्नातक नगरी जाँदा समस्या हुने उनको भनाइ छ ।
‘यो समयमा पर्याप्त परिपक्व भइसकेको हुँदैन । यो उमेरमा विदेशमा चार वर्ष संघर्ष गर्न सहज हुँदैन,’ उनले भने, ‘विदेशमा आर्थिक रूपले मन्दी भएको सुनिएको छ । अस्ट्रेलिया जानेले हप्ताको २० घण्टाभन्दा बढी काम गर्न पाउँदैनन् । २० घण्टा कामले खान, बस्न र यातायात खर्च पुर्याउनै धौ धौ पर्छ ।’

विदेशमा कलेजको शुल्क तिर्न समस्या हुने उनी बताउँछन् । ‘विश्वविद्यालयको शुल्क तर्नुपर्दा तनाव हुन्छ । धेरै भाइबहिनीहरू विदेशमा डिप्रेसनमा छन् । गइसकेपछि फर्किन गाह्रो छ । अभिभावकहरूले पनि मनन गर्नुपर्छ । प्लस टु सकाउनेबित्तिकै विदेश पठाउने रहर गर्नु हुँदैन,’ उनले भने ।

नेपालमै उत्कृष्ट शिक्षा

स्नातक तहको शिक्षा नेपालमै उत्कृष्ट रहेको प्रधानाध्यापक पौडेलको दाबी छ । ‘सीप हुन्छ, ज्ञान हुन्छ । त्यसपछि मास्टर्स पढ्न जाँदा संघर्ष गर्ने क्षमता विकास भइसकेको हुन्छ । ब्याचलर लेभल नेपालमा पढौँ । नेपालको शैक्षिक गुणस्तर खस्कियो । बिग्रियो भन्ने हल्ला छ, त्यो होइन,’ उनले भने, ‘हाम्रा विद्यार्थीहरू विदेश गएर विश्वविद्यालय टप गरेका छन् ।’






Leave a comment




Comments