निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति : प्राधिकरण

निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति : प्राधिकरण


इन्जिनियर्स नेपाल |  बैशाख १०, २०७७, काठमाडौं


#
engineersnepal.com

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको बताएको छ ।

प्राधिकरणले ४ लाख ९४ हजार ४४ अर्थात ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १ सय ४५ अर्थात २छ प्रतिशत लाभग्राही निजी आवास पुनर्निर्माणको चरणमा रहेकोसहित समग्रमा ८८ प्रतिशत भएको जानकारी गराएको हो ।


ADVERTISEMENT

२०७२ साल वैशाख १२ गते भूकम्प गएको ५ वर्ष पूरा हुन दुई दिनअघि प्रेस विज्ञप्ति जारी गरी प्राधिकरणले अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको सङ्ख्या ५ लाख ६१ हजार ६ सय ५० अर्थात ७२ प्रतिशत पुगेको जनाएको छ ।

निजी आवास पुनर्निर्माणका क्रममा करिव ५ लाख गुनासो सम्बोधन भएको र प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझ्नेहरूका लागि पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ५ हजार ५ सय ९८ अर्थात ७४ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । १ हजार ४ सय ९२ अर्थात २० प्रतिशत विद्यालय पुनर्निर्माणको क्रममा छन् ।

यस्तै ३२ जिल्लाका ९ सय २० वटा सम्पदामध्ये ४ सय २ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४१ वटा सम्पदा पुनर्निर्माणको चरणमा छन् । काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रका क्षतिग्रस्त १ सय ७० वटा सम्पदामध्ये १ सय १ वटा अर्थात ५९ प्रतिशत सम्पन्न भएका छन् भने बाँकी ५४ वटा अर्थात ३२ प्रतिशत पुनर्निर्माणको क्रममा छन् ।

कुल १ हजार १ सय ९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको छ भने १ सय ४५ वटा पुनर्निर्माणको चरणमा छन् । सम्पन्न भएका र पुनर्निर्माण भइरहेका गरी स्वास्थ्य क्षेत्रमा ६८ प्रतिशत प्रगति हासिल भएको छ ।

कुल ४ सय १५ सरकारी भवनमध्ये ३ सय ४९ वटा अर्थात ८४ प्रतिशत सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ । ४९ वटा पुनर्निर्माणको चरणमा छन् । तीमध्ये धेरै सम्पन्न हुने चरणमा छन् ।

पुनर्निर्माणअन्तर्गत सुरक्षा निकायका १ सय ९४ वटा संरचनाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २२ वटा पुनर्निर्माणको चरणमा छन् । भूकम्पपछि असुरक्षित स्थानमा रहेका लाभग्राहीमध्ये ४ हजार २ सय ४
लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको र ८ हजार ७ सय ४४ भूमिहीन तथा सुकुमबासी लाभग्राहीलाई जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्थाद्वारा जग्गा उपलब्ध गराई निजी आवास पुनर्निर्माण गर्ने वातावरण मिलाइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भएको छ भने ९ वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको छ । २७ वटाको डिपिआर स्वीकृत भई निर्माणाधीन छन् । यसरी कुल ७९ वटा एकीकृत बस्ती पुनर्निर्माणको प्रक्रियामा छन् ।

पुनर्निर्माणका क्रममा विभिन्न जिल्लामा ७ सय ६२ कि।मि। सडक पुनर्निर्माण गर्नुपर्नेमा ४ सय ४३ कि।मि। सडकको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ३ सय १९ कि।मि। सडकको पुनर्निर्माण अन्तिम चरणमा छ ।

खानेपानी विभागमार्फत १ हजार वटा खानेपानी योजना सम्पन्न भएका छन् भने १ सय वटा खानेपानी योजना कार्यान्वयनका चरणमा छन् । पुनर्निर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपियाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपियाँ गरी ३ खर्ब ८१ अर्ब रुपियाँ खर्च भएको छ ।

धेरै क्षेत्रबाट प्राप्त सहयोग र सद्भावले गर्दा नै हामी नेपालको पुनर्निर्माण र पुनर्स्थापनाबारे आत्मविश्वास र गौरवका साथ प्राप्त उपलब्धि, अनुभव र सिकाइलाई विश्वसामु राख्ने तहमा आइपुगेका हौँ, राष्ट्रिय पुनर्निर्माण

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने -यस अवसरमा म तीनै तहका सरकार, विभिन्न सामाजिक एवं व्यावसायिक सङ्घ/संस्था, अन्तर्राष्ट्रिय समुदाय, गैरसरकारी संस्था, कर्मचारी, स्थानीयसमुदाय, आमजनता एवं मिडियालगायत पुनर्निर्माण कार्यमा प्रत्यक्ष एवं अप्रत्यक्षरूपमा सहयोग पुर्याउनुहुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

प्राधिकरणले साढे ४ वर्षका बीचमा राजनीतिक अस्थिरता, दक्षिणी सीमामा भएको नाकाबन्दी, जनशक्ति र वित्तीय स्रोतको अभाव, भौगोलिक विकटता, सङ्घीयता कार्यान्वयनको सङ्क्रमणकालीन अवस्था, तीन तहका सरकारको निर्वाचनमा केन्द्रित हुनुपरेको अवस्था, कर्मचारी समायोजन जस्ता समस्या तथा चुनौती सामना गर्दै पुनर्निर्माण र पुनर्स्थापनामा उपलब्धिहरू हासिल गरेको दाबी गरेको छ ।

सबै क्षेत्रमा स्थिति सहज भएको भए पुनर्निर्माण र पुनर्स्थापनामा यो भन्दा अझ धेरै उपलब्धि हासिल गर्न सक्थ्यौँ तर त्यो विगत भइसकेको छ , प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यतिबेला कोभिड-१९ अर्थात कोरोना भाइरसको महामारीले विश्वव्यापीरूपमा प्रभाव पारेको र नेपालमा पनि १ महिनादेखि लकडाउन जारी रहेको उल्लेख गर्दै प्राधिकरणले त्यसले गर्दा पुनर्निर्माणका कार्यमा असर परेको बताएको छ ।

 



Your Comments