नेपालमा विद्युतीय सवारीको विकल्प छैन : इ.सागर ज्ञवाली

नेपालमा विद्युतीय सवारीको विकल्प छैन : इ.सागर ज्ञवाली


इ.सागर ज्ञवाली |  भदौ २३, २०७६, काठमाडौं


engineersnepal.com

यातायातलाई विकाशको मेरुदण्ड त्यसै भनिएको हैन । किनभने जुनसुकै देशको आर्थिक विकाश र समृद्धिको साँचो भनेकै सुलभ, सुरक्षित र सस्तो यातायात सेवा हो । विश्वभर बढ्दो यातायातका साधनको सघनताले यो गर्दा वातावरणमा सबैभन्दा बढि कार्वन उत्सर्जन गर्ने दोस्रो क्षेत्र यातायात क्षेत्र हो । किनभने यस्ता साधन चल्ने मुख्य उर्जाको स्रोत खनिज तेल हो । 

स्वच्छ उर्जाः मानव सभ्यताको भविष्य

तत्कालिन परिवेशमा संसारभर प्रयोग हुने यातायातको साधनमा विद्युतीय सवारीको अंश सानो भएपनि धेरै भन्दा धेरै अटोमोबाइल कम्पनीले यस प्रकारका साधन निर्माणमा ठुलो लगानी गरेका छन् । बढ्दो विश्व तापमान वृद्धि र जलवायु परिवर्तनका डरलाग्दा परिणामहरुलाई न्युनिकरण गर्न स्वच्छ उर्जाको बढि भन्दा बढि उत्पादन र प्रयोग अनिवार्य सर्त हो । त्यसैले पनि यसैमा आधारित विद्युतीय परिप्रयोगको लागी संसारभर निकै ठूला प्रयत्नहरु जबरजस्त सुरु भएका छन् । अझै चेतावनीको भाषामा भन्दा होमोसेपीयन्स मानव प्रजातीले पृथ्वीमा कति समय राज गर्ने हो भन्ने कुरा पनि पृथ्वीको पर्यावरण कस्तो रहन्छ भन्नेमै निर्भर रहेको छ ।

किनभने फेरिँदो पृथ्वीको वातारवणसंग अनुकुलता मिलाउन नसकेरै डायनोसर जस्ता भिमकाय जनावरहरुको साम्राज्य सकिएको हो । यो मानव प्रजाती भन्दा आगाडीका दर्जनौ प्रजातीहरु पनि पृथ्वीबाट लोप हुनुमा पनि कुनै न कुनै रुपमा पृथ्वीको पर्यावरणसंग जोडिएको छ । त्यसैले स्वच्छ उर्जा तर्फको बहस सामान्य विश्व व्यापारको प्रसंग मात्र नभएर मानवसभ्यताको भविष्यसंग जोडिएको विषय हो । खुसीको कुरा यो तथ्यलाई संसारभर स्वीकार गरिएको छ । त्यसैले पनि हरितगृह ग्यास उत्सर्जन गर्ने खनिज तेलले चल्ने असिमित सवारी साधनको विकल्पमा विद्युतीय साधनतर्फ मोडिएको ध्यान स्वागतयोग्य र प्रसंशनिय छ । परिणाम स्वरुप परम्परागत उर्जामा आधारित सवारी साधन निर्माण गरेका कम्पनीहरु विद्युतीय सवारी निर्माणमा निकै अग्रसर भएर लागेका छन् । 

विद्युतीय सवारीको युग

नेपालको अटोमोवाइलको बजार करिब पुर्णरुपमा छिमेकी देश भारतको बजारसंग निर्भर रहेको छ । यसै पनि भारतले सन २०३० सम्मको लक्ष्य राखेर खनिज तेलमा आधारित परिवहनलाई विद्युतीय परिवहनले प्रतिस्थापन गर्ने लक्ष्य राखेको छ । विद्युतीय परिवहनलाई प्राथमिकता दिन परम्परागत उर्जाले चल्ने परिवहनमा थप करहरुको व्यवस्था गर्दै विद्युतीय सवारीको उत्पादन र विक्रि वितरणमा उल्लेखनीय कर छुट, अनुदान र अन्य सुविधा दिएको छ । यस अर्थमा नेपालले चाहेर होस् या नचाहेर विद्युतीय सवारीको युग तिर लतारिनु पर्छ नै । त्यसकारण फेरिँदो विश्वको भविष्यलाई हेरेर यस विषयमा नेपालले आफु अनुकुलका नीति, कार्यक्रम र योजना अगाडि बढाउन ढिला भैसकेको छ । 

अन्तराष्ट्रिय उर्जा एजेन्सीको रिपोर्टलाई आधार लिने हो भने पनि पछिल्ला पाँच वर्षमा संसारभर साना ठुला सबै प्रकारका इलेक्ट्रिक सवारी साधनको उत्पादन र विक्रि उत्साहजनक रुपमा हुँदै आएको छ । एजेन्सीका अनुसार नेपाल जस्तो देशमा सस्तो, चलाउन सजिलो, भिडभाडमा ठुला कारहरु भन्दा सजिैलैछिर्न र निस्कन सक्ने, सामान्य संचालन खर्च लाग्ने हुदा विद्युतिय सवारी प्रयोगको चलन उत्साहजनक रुपमा वढ्दै जाने छ । 
भारतको उदारण लिएर हेर्दा हाल विद्युतीय सवारीमा प्रतिकिलोमिटर यात्राको औसत खर्च नेपाली रुपैयाँ ४० पैसा मात्र पर्छ र यसको गति पनि औसत ४० किलोमिटर प्रति सेकेन्ड हुन आउँछ । डिजेल र पेट्रोलसंग तुलना गर्दा यो निकै सस्तो मूल्य हो । यद्धपी नेपालका सडकहरुमा खाल्डाखुल्डी धेरै भएको हुँदा यो मुल्य अलिकति बढी हुन आउँछ । तर सञ्चालन खर्चको हिसाबले आजको दिनमा नेपालमा इलेक्ट्रिक सवारी चलाउनु बुद्धिमानी हुन्छ । 

सन् २०१७ मा मात्र इनर्जी इफिसियन्सी सर्भिस लिमिटेड, भारतले ४००० वटा इलेक्ट्रिकल सवारी चार्जिङ्ग स्टेसन जडान ग¥यो । इनर्जी इफिसियन्सी सर्भिस लिमिटेड भारतको सरकारी कम्पनी हो, जसले उर्जा दक्षताका विविध आयामहरुमा काम गर्दै आएको छ । नेपालमा पनि क्रमशः विद्युतीय परिवहनबारे चासो बढ्दै गएको छ । भर्खरै सम्पन्न ‘नाडा अटो सो’ मा पनि यस प्रकारका सवारी साधनमा निकै चासो व्यक्त भएको देखियो । सार्वजनिक रुपमा चार्जिङ्ग स्टेसन नभएकोले सवारी धनीले घरमै सवारीसाधन चार्ज गरेका छन् । 

जव इनर्जी इफिसियन्सी सर्भिस लिमिटेड प्रसङ्ग आउछ, भारतमा यो कम्पनीले प्राप्त गरेका सफलता देख्दा डाहा लाग्छ । भारत उज्याला कार्यक्रमवाट मात्र वार्षिक ३५०० मिलियन युनिट बचत गरेको छ र ग्रीडबाट करिव ७००० हजार मेघावाटको पिक विद्युत माग घटाएको छ । त्यो वाहेक उर्जा दक्ष पंखा, एअर कुलर, सडक वत्ति, भवन आदिबाट सबैका लागि नमुना हुने गरि उर्जा दक्षतामा राम्रा नतिजाहरु निस्केका छन् । त्यसबाहेका कृषि क्षेत्रमा उर्जा माग व्यवस्थापन, स्मार्ट मिटर, सोलारमा आधारित कृषि उर्जा माग व्यवस्थापन, कोजेनेरेसन र यस लेखमा चर्चा भए जस्तो विद्युतीय सवारी प्रवद्र्धनमा यो कम्पनीले उदाहरणीय काम गरेको छ । पैसा भएपछि जस्तोसुकै विद्युतीय सामाग्री पनि खरिद गर्न पाउने अव्यवस्था रहेकोले क्रमशः विद्युतीय डम्पिङ्ग साइट बन्दै गएको नेपालको परिप्रेक्ष्यमा यी क्षेत्रमा काम गर्न उपयुक्त कार्यक्रमसहितको बलियो निकाय बनाउन निकै ढिला भैसकेको छ । 

विद्युतीय सवारीको युग

नेपालका काठमाडौं जस्ता शहरहरुमा किन विद्युतीय सवारी चाहिन्छ भनेर चर्चा गर्नु असान्दर्भिक भैसकेको छ । किनभने समय धेरै अगाडि बढेर परम्परागत उर्जाले चल्ने कार र अन्य मध्यम आकारका सवारी साधन रोक्नुपर्ने समय नजिकिँदो छ । बढ्दो जनसंख्यासंगै बढेका सवारी साधनको भीडले गर्दा काठमाडौं जस्ता शहरको वायु निकै प्रदुषित भएको छ । त्यसमाथि विश्वका ठुलाठुला शहरहरुको आकार हेरेर तुलना गर्दा काठमाडौं साइलकल सिटीका लागी उपयुक्त शहर हो । शहरको वायु प्रदुषण वैराग लाग्दो भएर  मात्र पनि धेरै मान्छेले कार र मोटरहरुमा यात्रा गर्न रुचाउँछन ।

नत्र क्षेत्रफलको हिसाबले काठमाडौंमा साइकलबाट यात्रा गरेर पनि धेरै जसो ठाउँमा आउन जान सकिन्छ । तर, साइकल लिएर हिँड्ने न छुट्टै लेन छ, न साइकल लिएर हिँड्नेको सडकमा कुनै मुल्य छ । काठमाडौं जस्तो शहरको सार्वजनिक यातायातलाई यस्तै छोड्ने हो भने अलि समयमा मुखमा माक्स र आँखा जोगाउने चस्मा विनाको मान्छे सडकमा नभेटिने दिन आउनेछ । यी सबै पर्यावरणीय र मानविय समस्या आउनुपूर्व नेपाल सरकारले बेलैमा सचेतना जगाउनुको विकल्प छैन । 

उर्जा दक्षताको कोणबाट हेर्ने हो भने पनि विद्यु्तीय सवारी सबैभन्दा उर्जा दक्ष सवारी साधन हुन । अर्थात प्रतिकिलोमिटर एक जना व्यक्ति यात्रा गर्दा विद्युतीय सवारी साधनहरुले सबैभन्दा कम उर्जामा यो काम गर्न सक्छन ।  

विद्युतीय सवारीको विकल्प छैन्

नेपाल विद्युत प्राधिकरणको प्रक्षेपणले पनि एकाध वर्ष भित्र नेपालको राष्ट्रिय प्रशारण लाइनमा वर्षको आधा महिना समग्र देशको विद्युत माग भन्दा बढी विजुली आउने आँकलन छ । कतिपयले क्रमशः नेपालमा विद्युत उत्पादन बढ्दै जाँदा भारतमा विद्युतको माग अत्याधिक हुने र नेपालबाट भारतमा विजुली बेच्न सकिने तर्क गरेका छन । विश्व/क्षेत्रीय उर्जा बजारको सामान्य अध्ययनले पनि यो कुरालाई पुष्टि गर्दैन । यसै पनि अहिले बिहार बाहेक एक दुई राज्यमा सामान्य लोडसेडिङ्ग बाहेक भारतका कुनै पनि राज्यमा लोडसेडिङ्ग छैन । त्यति लोडसेडिङ्ग पनि आवश्यकता अनुसारको पावर हाउस नभएर हैन । त्यसमाथी नेपालको हाइड्रोपावरबाट उत्पादित उर्जाभन्दा भारतमा निकै सस्तोमा विजुली किनबेच हुन्छ ।

त्यसकारण भारत नेपालको बिजुलीको बजार हो भन्ने कुनै विश्वस्त आधार छैन । नेपालले क्षेत्रीय स्तरमा विद्युत व्यापार गर्न सक्ने कुरा पनि आएका छन । यसरी विद्युत व्यापार भएको अवस्थामा पनि नेपाल विद्युत बेचेर धनि हुन सक्दैन । नेपालमा बन्दै गरेका जलविद्युतको लागत, जलवायु परिवर्तनले नदिहरुमा पारेको प्रभाव आदि तथ्यहरुलाई केलाउँदा पनि यो विषय प्रष्ट हुन्छ । समग्रमा नेपालले आफ्नो विद्युत उत्पादनको खपत देश भित्र नै हुने गरि तयारी नगर्दा निकट भविष्यमै विद्युत बजारको अभाव हुने कुरा प्रष्ट छ । यसको लागी नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत माग र उत्पादनको प्रक्षेपण हेरे पुग्छ । 

तत्काल नेपालमा उर्जा खपत बढाउन सक्ने भनेको खाना पकाउने उर्जाको रुपमा विद्युतको परिप्रयोग, विद्युतीय सवारीको बढी भन्दा बढी प्रयोग र तिव्र औद्योगीकरण हुन । जसमा विद्युतीय सवारीको प्रयोगको विकल्प सजिलो, वढि प्रभावकारी, सस्तो र बहुआयामीक हुनसक्छ । 

चुनौती र सम्भावना

नेपाल जस्तो विकाशोन्मुख देशमा विद्युतीय सवारीको प्रवद्र्धनमा केही चुनौतिहरु छन् । मुख्यतः राज्यबाट नीतिगत रुपमा सहजीकरण गर्नु हो । त्यो अनुसारका कार्यक्रम तय गर्नु हो । हाल काठमाडौंमा विद्युतीय सवारी चढिरहेका व्यक्तिहरुका अनुभवहरु पनि खासै उत्साहजनक छैनन् । किनभने सडकका ठाउँ ठाउँमा खाल्डाखल्डी छन् । यस्ता सवारी साधनमा इन्जिनको काम विषेश खालको विद्युतीय मोटरले गर्ने हो । भिडभाडमा, खाल्डाखुल्डीमा, ग्रेड नमिलेको सडकमा आवश्यकता भन्दा बढी व्रेक लिनु पर्ने हुँदा यसको क्षमता चाँडै ह्रास हुदै जान्छ भने उर्जा जम्मा गरेर राखेको ब्याट्री पनि चाँडो डिस्चार्ज हुन्छ । त्यसमाथी आफ्नै घरमा बाहेक अन्य ठाउँमा यस्ता साधन चार्ज गर्ने स्टेसनहरु छैनन् ।

जसले गर्दा अलि लामो यात्रा गर्नु प¥यो भने स्वभाविक यस प्रकारका साधन रोजाईमा पर्दैनन् । मुख्यतः विद्युतीय सवारी र नविकरणीय उर्जा पर्यावरणीय हिसाबले परिपुरक विषय हुन् । त्यसकारण व्यस्त शहरमा पनि धेरै भन्दा धेरै खाली क्षेत्रमा सोलार पिभिका साना–साना फार्म बनाउने, त्यसलाई नेट मिटरिङ्ग मार्फत ग्रीडमा जोड्ने र त्यो मुनि विद्युतीय सवारी साधनको चार्जिङ्ग स्टेसन बनाउन पनि सकिन्छ । यो सामान्य प्रविधि हो । हरेक अफिसहरुका छतमा सोलार राखेर भुइँमा दुई तिन वटा विद्युतीय सवारी चार्जीङ्ग स्टेसन बनाउन सकिन्छ ।  अथवा सोलार नराखेर ग्रीडको बिजुली मात्र प्रयोग गरेर पनि चार्जिङ्ग स्टेसनहरु बनाउन सकिन्छ । जहाँ दुई पाङ्ग्रे, तिन पाङग्रे वा ठुला आकारका विद्युतीय सवारीहरु चार्ज हुन सकुन ।  (इन्जिनियर  ज्ञवाली नेपाल विद्युत प्राधिकरण अन्र्तगत उर्जा दक्षता विभागमा कार्यरत छन् ।) 

- इन्जिनियर्स नेपाल मासिक पत्रीकाबाट

 



1 Comments

Tikaram Dhakal

Sept. 10, 2019, 5 p.m.

Good things new generation of Nepal

Your Comments