लक्ष्य अनुसार पुँजीगत खर्च नहुँदा अर्थतन्त्र कमजोर
लक्ष्य अनुसार पुँजीगत खर्च नहुँदा अर्थतन्त्र कमजोर
लक्ष्य अनुसार पुँजीगत खर्च हुन नसक्दा अर्थतन्त्र कमजोर अवस्थामा पुगेको सरोकारवालाले बताएका छन् । प्रोगेसिभ इन्जिनियर्स एसोसिएसन, नेपालले शुक्रबार राजधानीमा आयोजित 'राष्ट्रिय अर्थतन्त्रमा पुँजीगत खर्चको प्रभाव' विषयक कार्यक्रममा वक्ताले विगतदेखि नै पुँजीगत खर्च कमजोर हुँदा अर्थतन्त्रमा अपेक्षित सुधार हुन नसकेको विचार व्यक्त गरे ।
कार्यक्रममा पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान आर्थिक सङ्कट पनि कमजोर पुँजीगत खर्चसँग जोडिएको विचार व्यक्त गरे ।
पुँजीगत खर्च कमजोर भएकै कारण नेपाललाई प्राप्त हुने अन्तर्राष्ट्रिय ऋण र अनुदान पनि घट्दै गएको उनले बताए । “गत वर्ष करिब साढे दुई खर्ब अन्तर्राष्ट्रिय ऋण र अनुदान प्राप्त गर्ने लक्ष्य राखिएकामा पुगनपुग ५० अर्ब रुपियाँ मात्र प्राप्त भएको छ । यसले पुँजीगत खर्च गर्न नसक्दा विदेशी सहायता नआउने देखाउँछ,” उनले भने ।
विदेशी सहायता नै घटेपछि त्यसको प्रत्यक्ष प्रभाव विदेशी मुद्रा सञ्चितिमा पर्ने र त्यसको असर अहिले घट्दो सञ्चिति रहेको उनले बताए । अहिलेकै पुँजीगत खर्च प्रवृत्ति निरन्तर रहँदा राष्ट्रिय गौरवका आयोजना पूरा हुन कम्तीमा २५ वर्ष लाग्ने पाण्डेले बताए ।
पूर्वाधारविद् डा. सूर्यराज आचार्यले ठूला परियोजना निर्माणमा नेपालले आँट देखाउनै नसकेको बताए । ठूला परियोजनाको छलफल हुनासाथ अनेक बहानामा त्यसलाई रोक्ने प्रवृत्ति मौलाएकाले पूर्वाधार विकासमा ठोस सफलता हात नपरेको उनको भनाइ थियो । गोरखापत्र दैनिकबाट