फोहोर व्यवस्थापनमा नयाँ रणनीति आवश्यक : मन्त्री चौधरी

फोहोर व्यवस्थापनमा नयाँ रणनीति आवश्यक : मन्त्री चौधरी

फोहोर व्यवस्थापनको नाममा मुलुकभरि नयाँ सिसडोल र बन्चरेडाँडा निर्माण गर्न सकिदैन


इन्जिनियर्स नेपाल |  साउन १२, २०७९,


engineersnepal.com

सहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर व्यवस्थापनका लागि नयाँ ठाउँ खोज्नुभन्दा त्यसबाट बिजुली, ग्यास र मल बनाउन नयाँ रणनीति तयार गर्नुपर्ने बताएका छन् । उनले फोहोर व्यवस्थापनको नाममा मुलुकभरि नयाँ सिसडोल र बन्चरेडाँडा निर्माण गर्न नसकिने स्पष्ट पारे। 

पदबहाली गरेको एक महिना पुगेको अवसरमा मन्त्रालयद्वारा भएका कामबारे जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सो धारणा व्यक्त गरेका हुन्। उनले असार १३ गते सहरी विकासमन्त्रीको पदभार ग्रहण गरेका थिए। 


ADVERTISEMENT

नयाँ सिसडोल र बन्चरेडाँडाको खोजी गर्नु फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान हुन नसक्ने बताउँदै उनले सहरी विकास मन्त्रीका रूपमा आफ्नो छोटो कार्यकालमा नै फोहोरबाट बिजुली, ग्यास र मल बनाउन सकिने प्रक्रियाको थालनी गर्ने प्रतिबद्धता व्यक्त गरे।

बागमती नदीलाई सफा गर्न मुहानबाट नै प्रशस्त पानी प्रवाह गर्नुपर्ने बताउँदै उनले जिम्मेवारीको हिसाबले आफू मन्त्री भए पनि मुलुकको निर्माणको जिम्मेवारी सबैको रहेको धारणा व्यक्त गरे। उनले आफूले कार्यभार सम्हालेको करिब एक महिनाको अवधिमा फुसको छानालाई विस्थापन गरी जस्तापाताको छाना लगाउने कार्यक्रमअन्तर्गत करिब १५ हजारको सङ्ख्यामा आवास एकाइको निर्माण सम्पन्न भएको जानकारी दिए। 

आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको यो कार्यक्रम अन्तर्गत अहिलेसम्म करिब ४० हजार आवास निर्माण भइसकेका छन्। 

मन्त्रालयको आगामी एक सय दिनको कार्ययोजना सार्वजनिक गर्दै मन्त्री चौधरीले काठमाडौँ उपत्यकाभित्रका सडकलाई पैदल यात्रीमैत्री बनाउन फुटपाथ निर्माण, विस्तार र पुर्नस्थापनाका लागि छुट्टै आयोजना सञ्चालन गर्ने बताए। गोरखापत्र दैनिकबाट



Your Comments