आज ६० औं ‘इन्जिनियर्स डे’, नेएको कार्यक्रम प्रधानमन्त्रीले उद्घाटन गर्ने
आज ६० औं ‘इन्जिनियर्स डे’, नेएको कार्यक्रम प्रधानमन्त्रीले उद्घाटन गर्ने
मुलुकभरका करिक ३६ हजारभन्दा बढि इन्जिनिरहरुको छाता संस्था नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए)ले मंगलवार ६० औं इन्जिनियर्स डे अर्थात् इन्जिनियर दिवस मनाउँदैछ । दिवसको पुर्वसन्ध्यामा विभिन्न कार्यक्रम गरेको नेइएले मंगलवार औपचारिक रुपमा कार्यक्रम गरेर यो दिवस मनाउन लागेको हो ।
‘इन्जिनियर्स फर सोसाइटल इम्पावरमेन्ट’ नारासहित मंगलवार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा औपचारिक कार्यक्रमको आयोजना हुने भएको छ । त्यस्तै एशोसिएसनका सातै प्रदेशहरुले पनि प्रदेश राजधानीमा पनि कार्यक्रमको आयोजना गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दिवसको उद्घाटन गर्ने कार्यक्रम तय भएको नेइएले जनाएको छ । देउवासहित, भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहमम्द इतियाक राईलगायत सरकारका सचिवहरुसहित पुर्व उच्च पदाधिकारी, विशिष्ठ व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम गरिने नेइएका उपमहासचिव सरोज धितालले जानकारी दिए ।
दुईवटा सत्रमा हुने कार्यक्रमको पहिलो सत्र उद्घाटन र दोस्रोमा महत्वपूर्ण २ वटा विषयमा प्यानल छलफल हुने पनि उनले बताए । उक्त अवसरमा पुर्वअर्थमन्त्री, राजनीतिज्ञ, मेयर तथा अन्य पदाधिकारीसहित प्यानल छलफल हुनेछ । उद्घाटन सत्रपछि सञ्चालन हुने प्राविधिकमा ‘सहरी विकासमा फोहोर व्यवस्थापन’का विषयमा विज्ञसहितको छलफल हुनेछ । यो सत्रमा पुर्वअर्थमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता गगनकुमार थापा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को उपस्थिति हुनेछ ।
यसैगरी दोस्रो कार्यक्रममा स्थानीय तहमा इन्जिनियरले कसरी सेवा प्रवाह गर्न सक्छन् भन्ने विषयमा छलफल हुनेछ । यस्तै हरेक वर्ष जस्तै यो वर्ष पनि विभिन्न ७ वटा विधामा पुरस्कार तथा सम्मान गरिने कार्यक्रम रहेको धितालले बताए । इन्जिनियरिङ क्षेत्रमा विशिष्ठ योगदान दिने र इनोभेसनमा काम गरेकालाई सम्मान तथा अबार्ड प्रदान गरिने कार्यक्रम रहेको पनि उनले बताए ।
यसका साथै नेइएले दिवसको पुर्वसन्ध्यामा विभिन्न कार्यक्रम आयोजना गरेको थियो । खासगरी नेइएले विभिन्न कलेजबाट भर्खर पासआउट भएका विद्यार्थीहरुलाई लक्षित गरेर करियर काउन्सिलीङ कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ । यस्तै नेइएले रक्तदान, चेस र इन्जिनियर्स म्याराथन कार्यक्रम पनि आयोजना गरेको थियो । असार ३२ गते गरेको रक्तदान कार्यक्रममा ८४ जना इन्जिनियर र आर्किटेक्टहरुले रक्तदान गरेका थिए ।
सो कार्यक्रममा नेइएका पूर्वमहासचिव तथा नेपाल आयल निगमका कार्यकारी निर्देशक ई.उमेश प्रसाद थानीले चेस प्रतियोगिता र इन्जिनियर्स म्याराथन २०७९ का बिजेताहरुलाई पुरस्कार बितरण गरे ।