इप्पानद्धारा बजेटको स्वागत
इप्पानद्धारा बजेटको स्वागत

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले निजी क्षेत्रका ऊर्जा उद्यमीका विभिन्न माग सम्बोधन गरेको र ऊर्जा खपत विस्तार र उत्पादनमा जोड दिएको भन्दै संसद्मा पेस भएको आगामी आर्थिक वर्ष २०७९/८०को बजेटको स्वागत गरेको छ ।
इप्पानले विद्युत् विकासका अनेक आयाममा सरकार तथा निजी क्षेत्रबीचको साझेदारीलाई उच्च प्राथमिकतामा राखेको टिप्पणी गरेको छ ।
इप्पानकै सुझावअनुसार कोरोना महामारीका कारण समयमा काम पूरा गर्न नसकेका विद्युत् आयोजनाको हकमा अनुमतिपत्रको म्याद दुई वर्ष थप्ने व्यवस्था गरेको, निजी क्षेत्रले विद्युत्गृहदेखि विद्युत् प्राधिकरणको सबस्टेसनसम्म प्रसारण लाइन निर्माण गरेमा ७५ प्रतिशतसम्म शोधभर्ना दिने व्यवस्था गरेको मा स्वागत गरेको छ ।
बजेटले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने, नदी बेसिनमा निर्माण हुने प्रसारण लाइन सरकारी, निजी साझेदारीमा निर्माण गर्ने कुरा उल्लेख गरेको तथा बजेटले १० करोड रुपियाँसम्म विद्युत् खपत गर्ने उद्योगलाई महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको भन्दै स्वागत गरेको छ ।