सिमेन्ट उद्योगको १४ अर्ब २७ करोड स्वीकृत, रासायनिक मल कारखाना स्थापना गर्न अध्ययन
सिमेन्ट उद्योगको १४ अर्ब २७ करोड स्वीकृत, रासायनिक मल कारखाना स्थापना गर्न अध्ययन

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा विहिवार बसेको लगानी बोर्डको ५० औं बैठकले सिमेन्ट उद्योगको लगानी स्वीकृत गरेको छ । उक्त बैठकले सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन एवम् व्यवस्थापनका लागि १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ बराबरको लगानी स्वीकृती गरेको छ ।
सो बैठकले नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्न समझदारीसमेत गरेको छ । कारखानाको विस्तृत सम्भाव्यता अध्ययनका लागि जर्मनीको डीआईएजी इन्डष्ट्रिज जीएमबीएचलाई अनुमति पत्र दिने निर्णय पनि गरेको छ।
यसैगरी तल्लो अरुण जलविद्युत परियोजना ६६९ मेगावाटको प्रस्तावक कम्पनीले पेश गरेको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरेको छ । साथै माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापनको म्याद थप सम्बन्धी विषयमा पनि अध्ययन गर्न पनि भनिएको छ ।
उक्त आयोजनाको अध्ययन गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगको उपाध्यक्षको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदनको आधारमा विकासकर्तासँग वार्ता गरी समझदारीको निमित्त बोर्ड बैठकमा पेश गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।
बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास तथा लगानीको ढाँचा र अरुण ३ जलविद्युत परियोजनाबाट प्राप्त हुने निःशुल्क ऊर्जा विक्री तथा सो बाहेकको अतिरिक्त उर्जा खरिद गर्ने विषयमा विस्तृत अध्ययन गरी वोर्डसमक्ष प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा दुई छुट्टा छुट्टै अध्ययन समिति गठन गरेको छ ।