गेमचेन्जर आयोजनाको प्रगति निरासाजनक, नामकै औचित्य पुष्टि गर्नुपर्ने अवस्था आयो : शर्मा

गेमचेन्जर आयोजनाको प्रगति निरासाजनक, नामकै औचित्य पुष्टि गर्नुपर्ने अवस्था आयो : शर्मा


इन्जिनियर्स नेपाल |  चैत १६, २०७८,


engineersnepal.com

काठमाडौं, चैत १६ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय गौरव र गेमचेन्जर आयोजनाको प्रगति निरासाजनक भएको बताएका छन् । राष्ट्रिय गौरबको आयोजनाको निर्माण धेरै सुस्त भएको भन्दै उनले यसको परिभाषा नै बदल्नुपर्ने बताएका हुन् ।

 


ADVERTISEMENT

आगामी आर्थिक बर्ष ०७९÷८० को बजेट निर्माण प्रक्रिया अघि बढाएको अर्थ मन्त्रालयले बुधवार सबै मन्त्रालयका सचिव, सहसचिव र नेपाली सेनासँग छलफल गरेको छ । सो क्रममा अर्थमन्त्री शर्माले भने, ‘नाम फास्ट ट्रयाक भनेको छ, तर काम स्लो ट्रयाकमा भएको छ, जसकारण समय र लागत धेरै महँगो हुन गएको छ ।’

 

सो अवसरमा उनले केहीलाई गेमचेन्जर आयोजना भनिए पनि के चेन्ज भयो कसैलाई थाहा नभएको बताए । उनले भने, ‘अब त नामको पनि औचित्य पुष्टि गर्नुपर्ने स्थिति आइसक्यो ।’ छलफलमा मन्त्री शर्माले सबै मन्त्रालय र निकायलाई चालू खर्च घटाउने योजना पनि पेश गर्न निर्देशन दिए । चालू आर्थिक वर्ष साधारण खर्च १० खर्ब ६५ अर्ब रुपैयाँ बिनियोजन गरिएको छ । 


बजेट तर्जुमा गर्दा गौरवका आयोजनाहरु र ठूला भौतिक पूर्वाधार सडक, रेल विद्युत्, सिँचाई, विमानस्थल निर्माणमा प्राथमिकिकरण गर्ने रणनीतिक आधार तयार गर्नुपर्ने जनाइएको छ ।


बजेट निर्माणका लागि सबै मन्त्रालय र सुरक्षा निकायसँग अर्थ मन्त्रालयको छलफल, बजेटमा राख्ने मुख्य योजना सात दिनभित्र पेश गर्न अर्थमन्त्री शर्माले निर्देशन दिए । सो अवसरमा संघीयताको मर्मअनुसार संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्ने गरी कस्तो योजना र नीति बनाउने भन्ने बारेमा कार्ययोजना पेश गर्न भनिएको छ ।



Your Comments