अनुमानितभन्दा झण्डै ५० अर्ब बढि खर्चिएपछि माथिल्लो तामाकोशीका सबै काम सम्पन्न

अनुमानितभन्दा झण्डै ५० अर्ब बढि खर्चिएपछि माथिल्लो तामाकोशीका सबै काम सम्पन्न



engineersnepal.com

स्वदेशी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सबै काम सम्पन्न भएको छ । ११ वर्ष अघि निर्माण सुरु भएको उक्त आयोजनामा सुरु लागतमा ४९ अर्ब बढेर ८४ अर्ब रुपैयाँ लगानीमा आयोजना सम्पन्न भएको हो । 


नेपाली लगानीमा निर्माण गरिएको आयोजनाको सुरूवाती लागत ब्याजबाहेक ३५ अर्ब रुपैयाँ थियो । यो लागत बढेको हो । माथिल्लो तामाकोसी जलविद्युत आयोजनासँग जोडिएको सबै काम सम्पन्न भएका छन् । 


ADVERTISEMENT


आयोजनासँग जोडिएको र देशकै दोस्रो ठूलो नयाँ खिम्ती २२०र१३२ केभी क्षमताको सबस्टेशन शनिवार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेसँगै आयोजना पूर्णरूपमा सकिएको छ । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजनासँग सम्वद्ध र सहयोगी सबैलाई सम्मान गरेको थियो । 


प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, जिल्लास्थित प्रमुख राजनीतिक दलका नेता, निर्माण व्यवसायीको उपस्थितिमा आयोजनाका सम्वद्ध सबैलाई सम्मान गरेका हुन् ।


कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाले हालसम्म एक अर्ब युनिट बराबरको बिजुली प्रवाह गरिसकेको छ । नयाँ खिम्ती सबस्टेशन भएर प्रवाहित भएको बिजुलीको परिमाण हो यो । नेपालमा भौतिक विकास गर्नु आफैँमा कष्टसाध्य काम बनिरहेको छ । त्यसमाथि जलविद्युत् आयोजना, प्रसारण लाइनको निर्माण अर्को जटिलताको पाटो बनीदिएको छ । 


माथिल्लो तामाकोसी प्रणालीमा जोडिएपछि देश बिजुलीमा आत्मनिर्भर बनेको तथ्य पनि यसैसँग जोडिएर आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले अनेकौँ हण्डर ठक्कर व्यहोर्दै आयोजनाको निर्माण सकिएको बताए । 


आयोजनाको सफलताले आगामी दिनमा यस्तै ठूला परियोजना स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्न सकिन्छ भन्ने अनुभव र आत्मविश्वाससमेत बढेको उनको भनाइ छ । बढी बिजुली माग हुने साँझ बिहानको समयमा समेत चार घण्टा पूर्ण क्षमतामा आयोजना चल्ने जनाइएको छ ।



Your Comments