गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान जेठ २ देखि हुने

गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान जेठ २ देखि हुने


इन्जिनियर्स नेपाल |  फागुन २९, २०७८,


engineersnepal.com

नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने र आगामी जेठ २ गतेदेखि व्यावसायिकरूपमा उडान खोल्ने तयारी भएको हो । 


आगामी जेठ २ गते बुद्ध पूर्णिमा परेकाले सोही दिनदेखि नियमितरूपमा अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी कामको तयारी भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बुद्ध पूर्णिमाको दिनबाट त्यहाँ अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी तयारी गर्न निर्देशन दिएका थिए । 


ADVERTISEMENT


त्यसलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले ४१ दिनपछि अर्थात् जेठ २ गतेबाट नै उडान–अवतरण गर्ने गरी काम गरिरहेको जनाएको छ । उक्त विमानस्थलमा चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय उडान–अवतरणका लागि काम भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देशको दोस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल हो ।

 

यस विमानस्थलमा अबको ४१ दिनपछि अन्तर्राष्ट्रिय उडान–अवतरण गर्न सकिने गरी काम भइरहेको प्राधिकरणका महानिर्देशक ई प्रदीपकुमार अधिकारीले बताए । “भैरहवामा आगामी बुद्ध पूर्णिमाका दिनदेखि अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी काम सुरु भएको छ, सम्भवतः तोकिएकै समयमै काम सुरु गर्छौँ ।” उनले भने ।


गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्स, जजिरा एयर र थाई स्माइलले उडान गर्ने आशय देखाएका छन् । सो एआइपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूले आफ्ना जहाजमार्फत भैरहवामा व्यावसायिक उडान भर्न ध्यानाकर्षण गराएका छन् । 

 

विमानस्थलको समग्र अवस्थाबारे पूर्ण जानकारी समेटेर सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएका तथ्याङ्कका आधारमा हवाई कम्पनीले आफ्नो जहाज त्यहाँ उडान तथा अवतरण गर्न सक्ने नसक्नेबारे जानकारी पाएका छन् ।



Your Comments