नेइए निर्वाचन : मतदान सकियो, नतिजा आउन भने केही दिन लाग्ने

नेइए निर्वाचन : मतदान सकियो, नतिजा आउन भने केही दिन लाग्ने


इन्जिनियर्स नेपाल |  फागुन २७, २०७८,


engineersnepal.com

इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनियर एशोसिएशन (नेइए)को नयाँ कार्यसमिति चयनका लागि शुक्रवार भएको निर्वाचन सम्पन्न भएको छ । विहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया ५ बजे सकिएको नेइए केन्द्रिय निर्वाचन समितिका संयोजक ई.घनश्याम भट्टराईले जानकारी दिए । 

 


ADVERTISEMENT

मुलुकभरका १४ ओटा मतदान केन्द्रबाट नयाँ कार्यसमिति चयन गर्न इन्जिनियरहरुले मत हालेका छन् । मतदानका लागि २५ वटा बुथ राखिएको र अहिले मतपत्र संकलन हुँदै गरेको उनले जनाए । 

 

२१ हजार ६८० मतदाता भए पनि कतिले मत हाले भन्ने विषय भने गणना हुँदै गरेको उनको भनाइ छ । उनले भने- चुनावको नतिजा कहिले आउछ भन्ने विषय भोली वा पर्सि थाहाले छ । समितिका अनुसार यो नतिजा आउन बढिमा ३/४ दिन लाग्ने छ ।

 

एशोसिएशनको ३३ औँ कार्यकारिणी समितिका लागि विभिन्न ५ वटा समूहको प्रतिस्पर्धा छ । सत्तारुढ दल नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर (सिडेन)ले ई. डा.हरिबहादुर दर्लामीको समूहलाई उम्मेदवार बनाएको छ । 

 

कांग्रेसकै  दिलीपकुमार झाको नेतृत्वमा अर्को समूहसमेत चुनावी मैदानमा होमिएको छ । यस्तै नेकपा एमाले निकट राष्ट्रिय प्रगतिशील गठबन्धनका ई. डा.सुरज लामिछाने, नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) एकीकृत प्रगतिशील समूहका तर्फबाट ई.डा. हरिराम पराजुलीको प्यानल चुनावी मैदानमा उत्रिएको छ ।

 

यस्तै नेपाल मजदुर किसान पार्टी निकट इन्जिनियर समाज नेपालका ई. राजेन्द्रप्रसाद हाडाको समूह प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन समितिले २५ बुथमा मतदानको व्यवस्था मिलाएको थियो । यसमध्ये काठमाडौँमा मात्र ११ हजारभन्दा बढी मतदाता छन् । पटक पटक सारिदैं आएको यो निर्वाचनले २५ सदस्यीय केन्द्रीय समिति दुई वर्षका लागि चयन गर्नेछ ।



Your Comments