पीपीए गर्न ९ हजार मेवाका २१५ आयोजनाको आवेदन, तत्काल पीपीए खुलाउन माग

पीपीए गर्न ९ हजार मेवाका २१५ आयोजनाको आवेदन, तत्काल पीपीए खुलाउन माग

हालसम्म रु. १० खर्ब लगानी, आगामी ७ वर्षमा थप १७ खर्बबढि लगानी हुनेछ : इपान


इन्जिनियर्स नेपाल |  फागुन १७, २०७८,


engineersnepal.com

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले नेपाल विद्युत प्राधिकरणलाई विद्युत खरिद–विक्री सम्झौता (पीपीए) तत्काल खुलाउन आग्रह गरेको छ । ३ वर्षदेखि पीपीए सम्झौता नगर्दा उर्जा उद्यमीहरुले अर्बाैंको लगानी जोखिममा परेको भन्दै तत्काल पीपीए खुलाउन प्राधिकरणलाई आग्रह गरेको हो ।

 


ADVERTISEMENT

विभिन्न ३२ वटा कम्पनीका पदाधिकारीहरुको हस्ताक्षरसहित इपानले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेट गरेको छ । इपानका अनुसार अहिले प्राधिकरणमा ९ हजार मेगावाट (मेवा) क्षमताका २१५ वटा आयोजनाहरुले पीपीएका लागि आवेदन दिएका छन् । 

 

तर, यी आयोजनाहरुको पीपीए नहुँदा व्यवसायीहरुले ३ वर्षदेखि सर्वेक्षण अनुमतिपत्रको वार्षिक नविकरण दस्तुर तिर्नु परेको र उत्पादन अनुमतिपत्र लिएकाहरुले वार्षिक आय गुमाइरहेको इपानले जनाएको छ । 

 

इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले यसबाट व्यवसायीहरुलाई ठूलो आर्थिक भार पर्न गएको बताए । यस अवस्थाले एकातिर समग्र आयोजनाको लागत उच्च हुने र अर्काेतर्फ निर्धारित समयमा आयोजना सम्पन्न हुन नसक्दा सरकारले लिएको लक्ष्य प्रभावित हुने उनले बताए । 

 

सरकारले १० वर्षमा १५ हजार मेवा विद्युत उत्पादनको लक्ष्य राखेको छ । तर, पीपीए नखुलाइदा उर्जा क्षेत्रको लगानी विस्थापित हुने उनको भनाइ छ । प्राधिकरणले हिउँदमा अर्बाैको विद्युत आयात गरिरहेको तथ्यलाई वेवास्ता गरेर बर्षायाममा थोरै विद्युत खेर गएको बहाना बनाएर पीपीए बन्द गरेको इपानले जनाएको छ ।

 

पीपीए गरिएका आयोेजनाहरुबाट कम्तीमा ५ वर्षपछिबाट मात्रै विद्युत उत्पादन गर्न सकिने यथार्थलाई प्राधिकरणले भुल्न खोजेको पनि इपानले उल्लेख गरेको छ । पीपीए नगरेर तोड्न खोजिएको भन्दै इपानले प्राधिकरणको यस्तो कार्यले उर्जा क्षेत्रको विकासमा लागेका निजी क्षेत्रलाई हतोत्साहित गरेको इपानको ठम्याइ छ ।

 

इपानका अनुसार हालसम्म उर्जा आयोजनाहरुको पहिचाहन, अध्ययन र विकासका लागि करिब रु. १० खर्ब लगानी भइसकेको छ, भने आगामी ७ वर्षमा थप १७ खर्ब रुपैयाँभन्दा बढि लगानी हुनेछ । प्राधिकरणको अकर्मण्यताले निजी क्षेत्रका उर्जा प्रवद्र्धकहरु निराश र अन्योलमा पर्न थालेको भन्दै इपानले छिटो पीपीए खुलाउन आग्रह गरेको छ । 



Your Comments