गौतम बुद्ध विमानस्थलमा आजदेखि क्यालिब्रेशन उडान, जेठदेखि नियमित गर्ने तयारी
गौतम बुद्ध विमानस्थलमा आजदेखि क्यालिब्रेशन उडान, जेठदेखि नियमित गर्ने तयारी

झण्डै सात दशकपछि नेपालले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान परिक्षण गर्ने भएको छ । विमानस्थल निर्माण सुरु गरेको झण्डै ७ वर्षमा नेपालको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल भैरहवास्थीत गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेशन उडान गरिने भएको हो ।
थाइल्याण्डको एयरलाइन्स कम्पनी एरो थाइले शुक्रवार (आज)देखि फागुन १५ गतेसम्म क्यालिब्रेशन उडान गर्ने विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । बिहिवार नै काठमाडौं हुँदै भैरहवा विमानस्थलमा एरो थाइको जहाजसहित प्राविधिक टोली पुगेका छन् ।
विमानस्थलले क्यालिब्रेशन उडानका लागि विहान १० बजेदेखि साँझ ५ ः ३० सम्म समय तालीका राखेको छ । यसैगरी विहान १० बजेदेखि बेलुका साढे ५ बजेसम्मका लागि भने भैरहवास्थीति उक्त विमानस्थलमा आन्तरिक एयरलाइन्स कम्पनीहरुले उडान गर्न पाउने छैनन् ।
क्यालिब्रेशन फ्लाइट (उडान) रनवे सही छ वा छैन, लाइटिङ प्रणाली, हवाई सञ्चार अर्थात् टावर कम्युनिकेशन, ल्यान्डिङलगायतमा कुनै समस्या छ वा छैन र राडरहरूको पोइन्ट स्पष्ट देखिन्छ कि देखिँदैन भन्ने लगायत विषयहरू एकिन गर्न क्यालिब्रेशन उडान गरिन्छ ।
यस्तै उक्त विमानस्थालबाट भने नियमित तथा व्यावसायिक रुपमा उडान भने जेठदेखि सुरु गर्ने तयारी गरिएको छ । बुद्धजयन्तीको अवसर पारेर उक्त विमानस्थलबाट उडान सुरु गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।