नेइए निर्वाचन : गृहको सर्कुलरपछि निर्वाचन समिति सिडियोलाई भेट्दै

नेइए निर्वाचन : गृहको सर्कुलरपछि निर्वाचन समिति सिडियोलाई भेट्दै

निर्धारित समयमै चुनाव गराउने प्रयास जारी छ : भट्टराई


इन्जिनियर्स नेपाल |  पुस २७, २०७८,


engineersnepal.com

गृह मन्त्रालयले सोमवार सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरु भेला हुने गरी कुनै पनि कार्यक्रम आयोजना नगर्न सुर्कलर जारी गरेपछि नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए)को निर्वाचन समितिले प्रमुख जिल्ला अधिकारी (सिडियो)सँग चुनावी एजेण्डाका विषयमा छलफल गर्ने भएको छ । 

 


ADVERTISEMENT

२१ हजार ८६० मतदाताहरुको सहभागितामा माघ ७ गते सातवटै प्रदेशमा चुनाव हुने मिति तय भएका बेला गृहको सर्कुलर आएपछि समितिले सिडियोसँग छलफल गरेर निर्वाचन हुने नहुने विषयमा ठोस निर्णयको पहल थालेको हो ।

 

नेइएको ३३ औं कार्यकारिणी समितिको निर्वाचन मिति नजिकिदैं गर्दा सरकारले लिएका नीतिका कारण कार्यतालिका प्रभावित हुने आकलनका बीच निर्वाचन समितिले काठमाडौंका सिडियोलाई भेट्न लागेको समितिका संयोजक घनश्याम भट्टराईले जानकारी दिए । उनले मंगलवार वा नभए बुधबारसम्म सिडियोलाई भेटेर चुनाव गराउने एजेण्डामा छलफल गरिने बताए । 

 

नेइए निर्वाचनमा कुल २१ हजार ८६० जना मतदाताले सहभागिता जनाउँदैछन् । यद्यपी यो संख्या ७ वटै प्रदेशमा छरिएर रहेको र बढी मतदाता भएका स्थानहरुमा २ वटा मतदान केन्द्र निर्धारण गरिएकोले भौतिक दुरी कायम राख्दै र स्वास्थ्य मापदण्डहरु पालना गर्दै निर्वाचन गराउन सकिने आधार रहेको उनले बताए ।

 

उनले बढी मतदाता भएका काठमाडौं अर्थात् बागमती प्रदेशमा भृकुटी मण्डपसहित अन्य स्थानमा मतदान केन्द्र बनाइएको र अर्काे जनकपुरमा पनि २ वटा मतदान केन्द्र राखिएको जानकारी दिए । ‘कतिपय मतदान केन्द्रमा २ सयभन्दा कम पनि मतदाता रहेकाले  अहिलेसम्म भौतिक दुरी कायम राखेर चुनाव गराउन सकिन्छ भन्ने नै हो,’ उनले भने, ‘सिडियो कार्यालयसँग छलफलपछि केही निष्कर्ष आउनेछ ।’

 

माघ ७ गते शुक्रवार ९ बजेदेखि हुने चुनावको लागि ५ गते चुनाव स्थगन भन्ने अवस्था आयो भने सबैलाई अफ्ठयारो हुने भन्दै उनले आसन्न निर्वाचनका विषयमा छिटै केही निर्णय गरिने बताए । पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर बढ्दो क्रममा देखिएपछि नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औं कार्यकारिणी समितिको निर्वाचन गर्ने नगर्ने विषयमा स्पष्ट हुन सकेको छैन ।

 

निर्वाचन समिति निर्वाचन मिति सारेर बस्ने नैतिकता हुँदैन भन्दै उनले  स्वास्थ्य प्रोटोकल, भौतिक दुरी कायम राखेर गर्न सकिने र भरसक सबै प्रोटोकल पुरा गरेर नै निर्वाचन गराउने प्रयत्न गरिने बताए ।

यसैगरी निर्वाचनका अन्य विकल्पहरु राजनीतिक दल राप्रपा, एमालेले प्रयोग गरे जस्तै  इलेक्ट्रोनिक भोटका लागि पर्यत्न गर्दा पनि इभोटिङ सम्भव नभएको उनले बताए । अनलाइन भोटिङमा अटोमेटिक भेरिफिकेसन गर्नुपर्ने भएकाले यो पोजिसनको प्रविधि विकास गरिएको भए पनि त्यसको पुर्वतयारी र मानसिकरुपमा पनि इन्जिनियरहरु तयार देखिएका छैनन् ।



Your Comments