सगरमाथा इन्जिनिरिङ कलेज र  ‘इयुटी प्लस एलायन्स’बीच सम्झौता

सगरमाथा इन्जिनिरिङ कलेज र  ‘इयुटी प्लस एलायन्स’बीच सम्झौता


इन्जिनियर्स नेपाल |  पुस २६, २०७८,


engineersnepal.com

सगरमाथा इन्जिनियरिङ कलेज र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजी (ईयुटी) प्लस एलायन्समा आबद्ध आठ युरोपियन विश्वविद्यालयसँग द्विपक्षीय सम्झौता भएको छ । उक्त एलायन्समा आवद्ध विश्वविद्यालयसँगको सम्झौता  कलेजका विद्यार्थी, शिक्षक तथा कर्मचारीको क्षमता तथा गुणस्तर अभिवृद्धिको लक्ष्यसहित द्धिपक्षिय सम्झौता भएको हो ।

 


ADVERTISEMENT

युरोपियन युनियनअन्तर्गत ‘इरासमस प्लस प्रोग्राम’को आर्थिक सहयोगमा सगरमाथा इन्जिनियरिङ कलेजलगायत स्पेन, पोर्चुगल, भारत र नेपालका नौ उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाबीचको सहकार्यमा सञ्चालन भइरहेको दुई वर्षीय आयोजना ‘इन्टरनेशनलाई जेशन अफ हायर एजुकेशन इन्स्टिच्युटसन इन नेपाल एण्ड इन्डिया (इन्टरनेपिण्ड)’द्वारा स्पेनमा आयोजित एक महिने तालिम कार्यक्रममा सहभागी हुने क्रममा कलेजका प्राचार्य इ रमेश श्रेष्ठले ती युरोपियन विश्वविद्यालयको छाता संस्था इयुटी प्लस एलायन्ससँग सम्झौता गरेका हुन् ।


कलेज र ती विश्वविद्यालयबीच विद्यार्थी, शिक्षक तथा कर्मचारी आदानप्रदान, अध्ययन, अध्यापन, अनुसन्धान तथा तालिम तथा विभिन्न परियोजनामा सहकार्य, छात्रवृत्तिका कार्यक्रम सञ्चालनलगायतका विभिन्न कार्यक्रम संयुक्तरुपमा सञ्चालन हुने व्यहोरा सम्झौतामा उल्लेख छ । 

 

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त सगरमाथा इन्जिनियरिङ कलेजद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा कलेजका प्राचार्य श्रेष्ठले भने, “इयुटी प्लस एलायन्ससँग द्विपक्षीय सम्झौतामार्फत युरोपका विभिन्न विश्वविद्यालयसँग जोडिन पाउनु सगरमाथा इन्जिनियरिङ कलेजका लागि गौरवको विषय हो । यसले कलेजको क्षमता तथा समग्र शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण टेवा पु¥याउनेछ । साथै कलेजले विगत एघार वर्षदेखि प्रदान गर्दै आइरहेकोे इन्जिनियरिङ शिक्षालाई थप गुणस्तरीय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धी बनाउन यसबाट सहयोग मिल्नेछ ।”
 

उनका अनुसार  ‘इरासमस प्लस प्रोग्राम’ अन्तर्गत विगत चार वर्षदेखि विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा कलेज सहभागी हुँदै आएको र हाल तीन परियोजनामा विभिन्न देशका शैक्षिक कार्यक्रम सञ्चालमा रहेको छ । 


यसबाट कलेजलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग प्राज्ञिक साझेदारी अभिवृद्धि गर्न तथा विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई विभिन्न किसिमका शैक्षिक तथा अनुसन्धानात्मक गतिविधिमा संयुक्तरुपमा सहभागी गराई क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने उनले बताए ।

 

‘इयुटी प्लस’ एलायन्समा आबद्ध ती सरकारी विश्वविद्यालयमा साइप्रस युनिभर्सिटी अफ टेक्नोजोली (साइप्रस), दार्मस्तात् युनिभर्सिटी अफ एप्लाइड साइन्स (जर्मनी), रिगा टेक्निकल युनिभर्सिटी (लाट्भिया), टेक्नोलोजिकल युनिभर्सिटी अफ डब्लिन (आरयल्याण्ड), टेक्निकल युनिभर्सिटी अफ सोफिया (बलगेरिर्या), पोलिटेक्निकल युनिभर्सिटी अफ कार्ताहेना (स्पेन), टेक्नोलोजिकल युनिभर्सिटी अफ ट्रोयस (फ्रान्स) र टेक्नोलोजिकल युनिभर्सिटी अफ क्लुज नापोका (रोमानिया) छन् । 



Your Comments