थन्किएको रेल पुनः परिक्षण हुँदा बढ्यो रेल चढ्ने रहर

थन्किएको रेल पुनः परिक्षण हुँदा बढ्यो रेल चढ्ने रहर


इन्जिनियर्स नेपाल |  पुस २५, २०७८,


engineersnepal.com

महोत्तरी- फेरि रेल चल्ने चर्चा चल्यो । शनिबार नेपाल रेल्वे कम्पनीका पदाधिकारी र भारतीय रेल्वे कम्पनी कोङ्कणका प्राविधिकले बर्दिबास–जयनगर रेल्वे बिस्तार परियोजनाको जयनगर–कुर्था खण्डमा रेल चलाएर लिक परीक्षण गरेपछि रेल चल्ने चर्चा फेरि चुलिएको हो । 

 


ADVERTISEMENT

“अब रेल चल्ने नै हो, सबै अवस्था ठिकठाक रहेको प्राविधिकको ठहर छ, एक महिनापछि आउने फ्रेब्रुअरी–१० तारिखदेखि कुर्था–जयनगर खण्डमा रेल सेवा सञ्चालन हुन्छ” नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाको पछिल्लो यो भनाइमा सर्वसाधारण भने त्यति आश्वस्थ देखिदैनन् । 


“कुर्था–जयनगर खण्डको लिक तयार भएको तीन वर्ष भयो, भारतबाट रेल ल्याएर इनर्वामा थन्क्याइएको पनि एक वर्ष नाघ्यो, चल्छ भन्ने त सुन्दै आइएको हो, अब चलेपछि चलेछ भन्ने बुझौंला”, महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का बासिन्दा सामाजिक कार्यकर्ता चन्देश्वर मण्डलले भने । 


शनिबार इनर्वा स्टेशनबाट रेल चलाएर ल्याएका भारतीय प्राविधिक चालक बिएन राय र पिटर साहबले परीक्षणबाट सबै अवस्था ठिक रहेको बताएपछि महाप्रबन्धक झाले फ्रेबुअरी  १० देखि सेवा सञ्चालन गरिने बताएका हुन् ।

 

“सेवा सञ्चालनमा अब खासै अड्चन छैन, दक्षप्राविधिक भारतबाट झिकाइएका छन्”, महाप्रबन्धक झाले भने । यद्यपि यसअघि पनि सेवा सञ्चालनका तिथिमिति तोकेरै मन्त्री र रेल्वे कम्पनीका पदाधिकारीका प्रतिबद्धता सुनेका यस भेगका सर्वसाधारणमा पछिल्लो रेल चल्ने चर्चाले खुशी समेटेको देखिदैन । 


जबजब रेल चाँडै चल्ने कुरा चर्चामा आउँछ, महोत्तरीकै भङ्गाहा नगरपालिका–९ हरिनमरीकी गुलावदेवी साहको मुर्झाएको मन फेरि बौरिन्छ । कुर्था नजिकको बस्तीकी सले पछिल्ला तीन वर्षयता ‘रेल अब चल्छ’ भन्ने सुन्दा÷सुन्दा हल्ला भित्रै हराएको व्यङ्ग गरिन् ।


रेलको कुराले कैयन पटक आफ्नो रहर मूर्छित् हुने र बौरिने गरेको साहको भनाइ छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म २०७५ को हिउँदमै रेल चल्ने कुरा सुनेकी साहले बुढ्याँइले चाउरिएर मुजैमुजा परेको अनुहार अपत्यारिलो बनाउँदै भनिन्, “अखैन सेहो आब किछे दिनमें रेल चलके वात सुनैछी, चलत त बुझब जे रेल चल लागल ।”


भारतीय सहयोगमा अझै निर्माणधीन रहेको बर्दिबास ९महोत्तरी०–जनकपुरधाम –धनुषा–जयनगर भारतसम्मको ६९ किलोमिटर दूरीको रेल सेवाको जयनगरदेखि कुर्था धनुषासम्म ३४ किमी दूरीमा लिक तयार भएको तीन वर्ष भइसकेको छ । कुर्थादेखि भङ्गाहा–५ महोत्तरीको विजलपुरा स्टेसनसम्म पनि अब पुलपुलेसा र लिक तयार छ । 


लिक, पुलपुलेसा बन्दा रेल चल्ने विश्वास जागेपनि कहिले चल्ने भन्ने कुरामा चैं ठूलाबडाको भनाइ त्यति पत्यारिला नपाइएको महोत्तरीकै लोहारपट्टी–४ खुट्टा बस्तीकी ७५ वर्षीया राजकली चौधरीको भनाइ छ । राजकली चौधरीकै बुहारी पूजा अधिकारी र मञ्जु यादवले पनि रेल चढेर माइत जाने रहर कहिले पूरा होला भनेर पर्खी बसेको बताइन् ।


धनुषाको कुर्थामा निर्मित रेल्वे स्टेसन महोत्तरीको लोहारपट्टी नगरपालिका र पिपरा गाउँपालिकासँगै जोडिएको छ । राजकली चौधरीको घर त कुर्था स्टेसनबाट तीन किमीभन्दा पनि नजिक छ । लोहारपट्टी नगरपालिकाका खुट्टापिपराढी, महदैया, तपनपुर, मधेपुरा र बगडा कुर्थाबाट जोडिएका बस्ती हुन् ।


त्यस्तै पिपरा गाउँपालिकाका रतौलीका बस्ती पनि कुर्थासँगै जोडिएका छन् । यसैले कुर्थासम्म रेल चल्ने कुरा चलेपछि यी बस्तीमा छुट्टै उमङ्ग थपिएको देखिन्छ । तर चर्चाअनुसार रेल नचलेपछि पलाएको उत्साह मर्ने गरेको यस भेगका बासिन्दा बताउँछन् । 

अब रेल चलेपछि भने सपरिवार रेल चढेर जनकपुर जाने रामराजीको धोको छ । यसैबीच रेल्वे ट्र्याकका १४ हजार जति क्लिप र नट भर्खरै चोरी भएका छन् । चोरी भएका क्लिप र नट भारतीयपक्षले फेरि लगाइदिने जनाए पनि सुरक्षा चासोभने आम सर्वसाधारणले राख्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ । 


पहिले जयनगर, जनकपुर हुँदै विजलपुरासम्म चल्ने रेल २०५८ सालको बर्खे भेलले बिग्ही नदीको पुल भत्काएपछि सेवा बन्द भएको थियो । विसं १९९४ सालमा नेपालका वनका काठ बोगी ९रेलका मालसामान राख्ने डब्बा० भारत लाने उद्देश्यले सुरु भएको यो रेल कालान्तरमा यात्रु सेवामा परिणत भएको थियो । 


महोत्तरीका लोहारपट्टी, पिपरा, बलवा र भङ्गाहासहितका स्थानीयतहका बस्तीमा रेलको कुराले तत्काल जनमानसमा प्रभाव पार्छ । रेल चले आवतजावतको सुविधाको कुरामात्र नभएर आफ्नो फसलले तत्काल बजार पाउने सर्वसाधारण किसानको आश छ । 


“रेल चले हामीकहाँ उत्पादित दूध र अन्य कृषि फसल जनकपुरदेखि जयनगरसम्मको बजारमा तत्कालै पुग्नेछ”, लोहारपट्टी नगरपालिका–४ का वडाध्यक्ष जीतेन्द्र चौधरीले भने, “यसले किसानको जीवनस्तरमा निश्चित सुधार ल्याउने छ ।” 

कुर्थाबाट ५÷६ किलोमीटरको दूरीमा पर्ने भङ्गाहा नगरपालिकाको हरिणमरी, अजगेवा, भीमगढ, कटैया र टिकुलियासम्मका किसानले रेल चलेपछि आफ्नो बारीको तरकारी तुरुन्तै भारतीय बजारसम्म पुग्ने आश सगाँलेका छन् ।  


भारतको जयनगरबाट जनकपुरहुँदै बर्दिवाससम्मको ६९ किलोमिटर दूरीमध्ये जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किमी दूरीमा आउने फेब्रुअरीमा रेल सञ्चालन भएपछि दोस्रो खण्ड (धनुषाको कुर्थादेखि महोत्तरीको भङ्गाहा–५ विजलपुरास्टेशनसम्म) खण्डमा पनि चाँडै रेल सेवा चल्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ । 


कुर्थाबाट बिजलपुरासम्मका महोत्तरीमा पर्ने खुट्टापिपराढी, लोहारपट्टी, सिङ्ग्याही र बिजलपुराका स्टेसन भवन तयार भएका र लिक ओछ्याउने र पुलपुलेसा निर्माणको काम सम्पन्न भएको छ । अब अन्तिम चरणको व्यवस्थापन मिलाउनमात्र बाँकी रहेकाले थप १७ किमी ९कुर्थाबाट बिजलपुरा० को सेवा पनि चाँडै सुरु हुने महाप्रबन्धक झाको भनाइ छ ।    


नेपाल भारतबीच सन् २०१० मा भएको सम्झौताअनुरुप भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोगमा (सन् २०१० को इष्टिमेट) ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा सुरु गरिएको हो । यसअघि निर्माण कार्य थालिएको पाँच वर्षभित्रै रेल सेवा सञ्चालन हुने बताइए पनि यस काममा एकपछि अर्को अवरोध थपिँदै जाँदा रेल सेवा सञ्चालनको काम लम्बिदै गएको हो । रासस



Your Comments