सम्पर्कविहिन ठेकेदार ९ महिनापछि सडक निर्माणमा फर्किए

सम्पर्कविहिन ठेकेदार ९ महिनापछि सडक निर्माणमा फर्किए


इन्जिनियर्स नेपाल |  पुस २५, २०७८,


engineersnepal.com

सांकेतिक


म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्डका ठेकेदार नौ महिनापछि काममा फर्किएका छन् । ठेकेदार सम्पर्कविहीन हुँदा सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएको समाचार मङ्सिर अन्तिम साता राससमार्फत विभिन्न सञ्चारमाध्यममा प्रकाशन÷प्रसारण भएको थियो । 

 


ADVERTISEMENT

पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभी गत वैशाख महिनादेखि सम्पर्कविहीन बनेपछि सो सडकखण्ड अलपत्र बनेको थियो । सार्वजनिक, सम्बन्धित कार्यालयको ताकेता र राजनीतिक तथा नागरिक दबाब सिर्जना भएपछि सडकको काम सुरु भएको छ । हिमालयन विल्डर्सलाई सहायक ठेकेदारका रुपमा पुस तेस्रो सातादेखि काममा पठाएको बिरुवा क्याराभानका प्रतिनिधि सोमनाथ गौचनले बताए । 


“अधुरो कामलाई पूर्णता दिने गरी मजदुर र उपकरण परिचालन गरिएको छ”, उनले भने, “सडक निर्माणलाई सहज बनाउन नदीजन्य निर्माण सामग्रीको सहज व्यवस्थापन गरिदिन अनुरोध गरेका छौँ ।” विसं २०७६ जेठ ३१ गते रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा सकिनुपर्ने थियो ।

 

हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको यो आयोजनाको ठेक्काको म्याद आगामी चैत महिनासम्म थपिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए । गत वैशाखमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञाका कारण सडक निर्माण रोकिएको थियो । 


बलौटेमा म्याग्दी नदीले कटान गरेर जोखिम बनाएको छ । सो ठेकेदारको जिम्मामा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । सडकमा थुपारिएको माटो, ढुङ्गा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको यातायात व्यवसायी प्रमोद भण्डारीले बताए । 


सीमदेखि लाम्पाटाखण्डको चार किमी सडक कालोपत्र गर्न पुस १८ गते ओमबुद्ध निर्माण सेवा वसुन्धराले रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर गुरुदत्त अधिकारीले जानकारी दिए । ठेक्का प्रतिस्पर्धामा ओमबुद्धले अनुमान गरिएको भन्दा ४३ प्रतिशत घटेर कबोल गरेको थियो । 


१० वटा कम्पनीले प्रतिस्पर्धामा भाग लिएका थिए । ठेक्का सम्झौताको म्याद १८ महिनाको हो । सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गर्न लागिएको हो । विसं २०६३ मार्ग खुलेको २४ किमी दुरीको बेनी–दरबाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । 



Your Comments