सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ४ चिनियाँ कम्पनीको प्राविधिक प्रस्ताव स्वीकृत

सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ४ चिनियाँ कम्पनीको प्राविधिक प्रस्ताव स्वीकृत


इन्जिनियर्स नेपाल |  पुस २१, २०७८,


engineersnepal.com

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्गको निर्माणको लागि प्रस्ताव गरिएका ९ कम्पनीमध्ये ४ वटा चिनियाँ कम्पनीहरुको प्राविधिक प्रस्ताव स्वीकृत भएको छ  । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले कम्पनीको नाम सार्वजनिक गर्दै आर्थिक प्रस्ताव खोल्ने तयारी गरेको छ ।

 


ADVERTISEMENT

केन्द्रका अनुसार प्राविधिक प्रस्ताव स्वीकृत भएका कम्पनीहरुमा चाइन फस्र्ट हाइवे इन्जिनियरिङ कर्पाेरेशन, सिओभीइसी–सिआरइजीसी जेभी, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेशन र सीसीइसीसी–सीआरसीसी१४–सियुयान जेभी छन् । ४ वटै चिनियाँ कम्पनी भएकाले सिद्धबाबा सुरुङमार्ग चिनियाँ कम्पनीले बनाउने निश्चित देखिन्छ ।

 

केन्द्रले ती कम्पनीको आर्थिक प्रस्ताव बुधवार अर्थात् पुस २८ गते खोल्दैछ । आर्थिक प्रस्ताव खुला गरेपछि कम बिड हाल्ने कम्पनीलाई उक्त सुरुङमार्ग निर्माणका लागि जिम्मा दिइने छ । मुलुकभरका विभिन्न स्थानहरुमा सुरुङमार्ग आयोजनाहरु निर्माणको घोषणा भएअनुसार अब सिद्धबाबा सुरुङमार्ग योजनामा मात्रै नभएर निर्माणमा अघि बढ्ने देखिएको छ । 

 

इन्जिनियरिङ, प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा ठेक्का लगाइने यो सुरुङमार्ग ५ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपालको लगानीमा नै बन्ने सुरुङमार्गका लागि अर्थ मन्त्रालयले २०७६ मंसिरमा रु. १० अर्ब १५ करोडको बजेट स्रोत सुनिश्चित गरिसकेको छ । ठेक्का सम्झौता भएको ९ महीनामा सम्बन्धीत कम्पनीले सुरुङमार्गको डिजानइ विभागलाई उपलब्ध गराउने छ । 

 

उक्त सडकको सिद्धबाबा खण्डको करीब ४ देखि ५ किलोमीटर क्षेत्रमा जाने पहिरोका कारण प्रत्येक वर्ष जनधनको क्षति हुँदै आएको छ । यो क्षतिलाई न्युनिकरण गर्ने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा यो सुरुङमार्ग अघि सारेको थियो । उक्त आयोजनाअन्तर्गत चिडिया खोलादेखि माथिल्लो सिद्धबाबासम्म ९०० मिटर सडकलाई दुई लेनमा स्तरोन्नति गरिनेछ भने सुरुङमार्गको अर्को भागको ५०० मिटरलाई पनि दुई लेनमा स्तरोन्नति गरिनेछ । सुरुङमार्गको दूरी भने १ किलोमिटर १२६ मिटरको हुने केन्द्रले जनाएको छ ।



Your Comments