नेइए निर्वाचन : मतदान केन्द्रसहित मतदाताको अन्तिम नामावली सार्वजनिक, मतदाताको संख्या २२ हजार १४८

नेइए निर्वाचन : मतदान केन्द्रसहित मतदाताको अन्तिम नामावली सार्वजनिक, मतदाताको संख्या २२ हजार १४८


इन्जिनियर्स नेपाल |  पुस २०, २०७८,


engineersnepal.com

नेपाल इन्जिनियर्स एसोसियसन (नेइए)ले ३३ औं केन्द्रिय कार्यकारिणी समिति, ७ वटै प्रदेश दोस्रो कार्यकारिणी समिति तथा नेपाल इन्जिनियरिङ परिषद् प्रतिनिधिका सदस्यहरुको चयनका लागि मतदान केन्द्रअनुसार मतदाता नामावली सोमवार सार्वजनिक गरेको छ । नेइएको अन्तिम मतदाता नामावलीअनुसार उक्त निर्वाचनमा कुल २२ हजार १४८ जना मतदाताले मतदान गर्न पाउनेछन् । 


माघ ७ गते शुक्रवार विहान ९ बजेदेखि सुरु हुने निर्वाचन कार्यक्रमअनुसार नेइएले मतदान केन्द्रअनुसार मतदाताको नामावली सार्वजनिक गरेको हो । नेइएको सूचनाअनुसार मुलुकभर तोकिएका मतदान केन्द्रहरुमा काठमाडौंको भृकुटीमण्डप, झापाको बिर्तामोड, सुनसरीको इटहरी, मोरङको विराटनगर, धनुषाको जनकपुर, पर्साको बिरगञ्ज, मकवानपुरको हेटौंडालाई मतदान केन्द्र तोकिएको छ ।


ADVERTISEMENT

 

यस्तै चितवनको भरतपुर, कास्कीको पोखरा, रुपन्देहीको बुटवल, दाङको घोराही, बाँकेको नेपालगञ्ज, सुर्खेतको विरेन्द्रनगर र कैलालीको धनगढीलाई मतदान केन्द्र तोकिएको छ । यसअनुसार बागमती प्रदेशको काठमाडौं मतदान केन्द्रबाट १२ हजार २२६ जनाले मतदान गर्दैछन् भने यही प्रदेशको भरतपुर मतदान केन्द्रमा ३११ जना र हेटौंडाबाट १५४ जना मतदाता रहेका छन् ।

 

प्रदेश १ को विराटनगर मतदान केन्द्रमा ७०४ मतदाता छन् । यसैगरी प्रदेश न. १ कै विरगञ्ज मतदान केन्द्रमा ७५२ मतदाता र बिर्तामोडमा १४५ जना मतदाता र इटहरीमा २८४ जना मतदाता रहेको नेइएले जनाएको छ । 

 

प्रदेश २ को विरगञ्ज मतदान केन्द्रमा ५७२ जना मतदाता रहेका छन् भने सबैभन्दा यही प्रदेशको जनकपुर मतदान केन्द्रबाट २ हजार १९९ जनाले मतदान गर्दै छन् । यस्तै लुम्बिनी प्रदेशको बुटवल मतदान केन्द्रबाट १ हजार २६४ जनाले मतदान गर्दैछन् भने यही प्रदेशको दाङ मतदान केन्द्रबाट १८७ जना र नेपालगञ्ज केन्द्रमा १९२ मतदाता छन् ।

गण्डकी प्रदेशको पोखरा मतदान केन्द्रमा २ हजार ५१ जना मतदाता रहेका छन् भने सुदुरपश्चिम प्रदेशको धनगढी मतदान केन्द्रबाट ६८२ जनाले मत हाल्दैछन् । यसैगरी कर्णाली प्रदेशको सुर्खेत मतदान केन्द्रबाट ७०९ जना मतदाताले नयाँ कार्यसमिति चुन्न मत हाल्ने गरी अन्तीम मतदाता नामावली नेइएले प्रकाशित गरेको छ ।



Your Comments