सानो मिल्टीखोला हाइड्रोपावरका लगानीकर्ता विरोधमा, हाइड्रो सञ्चालन गर्न माग

सानो मिल्टीखोला हाइड्रोपावरका लगानीकर्ता विरोधमा, हाइड्रो सञ्चालन गर्न माग


इन्जिनियर्स नेपाल |  पुस १३, २०७८,


engineersnepal.com

सानो मिल्टीखोला हाइड्रोपावरका सञ्चालकहरुले हाइड्रोपावर अलपत्र पारेको भन्दै शेयरधनीहरुले विरोध जनाएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर शेयरधनीहरुले विदेशमा पसिना बगाएको मजदुरहरुको लगानी डुबाउन खोजेको आरोप लगाएका हुन् । 

 


ADVERTISEMENT

राष्ट्रिय वाणिज्य बैंकले ३५ दिने सुचना निकालेर ऋण तिर्न भने पनि हाइड्रोपावर ७० दिन हुँदासम्म चुप लागेर बसेको शेयरधनी चेतबहादुर बस्नेतले बताए । सञ्चालकहरुको जायजेथा, चल अचल सम्पत्तिबाट असुलेर भए पनि बिदेशमा बसेर पसिना बगाएका मजदुरहरुको पसिना नडुबाउन र हाइड्रो सञ्चालन गर्नुपर्ने माग उनले गरे । 

 

रामेछापस्थित मन्थली नगरपालिका–१३ र १४ स्थित हाइड्रोपावर डुब्न लाग्दा शेयरधनीहरु डुब्ने खतरा बढेपछि आफूहरुको धारणा सार्वजनिक गरेका हुन् । बस्नेतले हाइड्रोपावरले आफुजस्तै ५ सय जना शेयरधनीहरुलाई अलपत्र पार्न खोजेको बताए । 

 

‘हामी सबैले बिदेशको चर्को घाममा पसिना बेचेर कमाएको पैसा हो, हाम्रो पैसा सुरक्षित हुनुपर्छ । हाइड्रो जसरी पनि सञ्चालन गरिनुपर्छ,’ उनले भने, ‘यो सञ्चालकहरुको बेइमानीको कारण आज हामीले दुःख पाएका छौं, हाम्रो पैसा फसाइदै छ ।’ 

 

एकजना शेयरधनीले १ लाख देखि १३ लाख रुपैयाँसम्म लगानी गरेको उनले बताए । उनले शेयरधनीहरुको पैसा लिएर सञ्चालकहरुले कामै नगरेको जनाए । हाइड्रोपावरले आफुहरुले देखिने गरेर जम्मा ४ किलोमिटर मात्रै सडक निर्माण गरेको समेत उल्लेख गरे ।

 

उनले भने, ‘४ किलो बाटो पनि अरुको पनि लगानी छ भन्ने सुनेका छौं, त्यसमा पनि हाइड्रोको मात्र लगानी छैन, सकेसम्म विदेशमा कमाएका मजदुरको लगानी सुरक्षित होस्, नडुबोस् ।’ 

 

शेयरधनी गोकर्ण रिमालले हाइड्रोपावरले शेयरधनीहरुलाई धोका दिएको बताए । उनले भने, ‘बैंकले ऋण असुलीको सुचना निकालेपछि हाइड्रोपावरले लगानीकर्ता खोज्दैछौं, तपाईहरुको लगानी डुब्न दिन्नौं, केही समय धैर्य गर्नुहोस् भने पनि ७० दिन नाघ्दासम्म केही काम नगरेको र लगानीकर्ता पनि आएका छैनन् ।’ 

 

उनले दक्षिण कोरियामा काम गरेको करिब ५ सय जना मजदुरहरुले हाइड्रोमा शेयर हालेको जानकारी दिए । ५ सय जना नै हाइड्रोका संस्थापक सञ्चालकहरुबाट पीडित भएको पनि सुनाए । 

 

२ पटक गरेर कोरियाबाट ११ करोड ४५ हजार रुपैयाँ मजदुरहरुको पैसा हाइड्रोले उठाएको भन्दै उनले थप बैंकबाट ३ करोड रुपैयाँ ऋण लिएर खर्च गरेको जानकारी दिए । उनले भने, ‘ब्याजसहित गरेर १७ करोड रुपैयाँ हाराहारीमा हिसाब देखिन आउँछ ।’ 



Your Comments