एनआरए निर्देशक समितिको बैठक : पुनर्निर्माण प्राधिकरणको दायित्व, सम्पत्तिलगायत हस्तान्तरण हुने

एनआरए निर्देशक समितिको बैठक : पुनर्निर्माण प्राधिकरणको दायित्व, सम्पत्तिलगायत हस्तान्तरण हुने

प्राधिकरणको कार्यकाल पुस ९ गतेबाट सकिंदै



engineersnepal.com

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (एनआरए)को निर्देशक समितिको बैठकले २०७२ प्राधिकरणको दायित्व, सम्पत्ति, श्रेष्तालगायतका कार्यहरु हस्तान्तरण गर्ने निर्णय गरेको छ । बुधवार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले प्राधिकरणको दायित्व, सम्पत्ति, श्रेष्तालगायत हस्तान्तरण हुने निर्णय गरेको हो ।

 


ADVERTISEMENT

प्राधिकरणबाट हस्तान्तरण भई विभिन्न मन्त्रालय, विभाग एवं निकायमार्फत सम्पादन भइरहेका कार्यहरुको सहजीकरण, समन्वय तथा अनुगमन सम्बन्धी कार्यहरु अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् हुने भएका छन् । प्रधानमन्त्री एवं प्राधिकरण निर्देशक समितिका अध्यक्ष देउवाले नेपालको पुनर्निर्माणमा सहयोग पु¥याउने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिएका छन् ।

 

प्रधानमन्त्री देउवाले हस्तान्तरण भएका बाँकी कार्यहरु समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिदैं पुनर्निर्माणका बाँकी कार्यमा बजेटको अभाव नहुने प्रतिवद्धता जनाए । सो अवसरमा निर्देशक समितिका उपाध्यक्ष एवं नेकपा (एमाले) का नेता सुवास नेम्वाङले पुनर्निर्माणका अनुभव र सिकाईलाई संस्थागत सम्झनामा राख्न सुझाव दिंदै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई थप स्वायत्त र अधिकारसम्पन्न बनाउन उपयुक्त हुने धारणा राखे ।

 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणबाट प्राप्त उपलब्धिहरुको चर्चा गर्दै विपद् उत्थानशील विकासलाई राष्ट्रिय विकास योजनाको अभिन्न अंगका रुपमा लैजानुपर्नेमा जोड दिए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विशिष्ट कानुनी अधिकारसहित आवश्यक वित्तीय व्यवस्थापनका साथै जनशक्ति उपलब्ध गराउनुपर्ने उनले बताए ।

 

निर्देशक समितिको बैठकले प्राधिकरण अन्तर्गत भैरहेका कार्य तथा हक, दायित्व, सम्पत्ति, श्रेष्ता, कागजात तथा विवरणको हस्तान्तरण सम्बन्धमा पनि निर्णय गरेको छ । त्यसैगरी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको चालु र पँुजीगत खर्चको आ.व. ०७८÷०७९ को एकीकृत आर्थिक विवरण तयार गर्ने कार्य तथा लेखा परीक्षण सम्बन्धि कार्यहरुको जिम्मेवारी पनि यसै प्राधिकरणलाई दिइएको छ । 

 

साथै विश्व बैँकसँगको सम्झौता बमोजिम कार्यान्वयन भैरहेका भूकम्पीय आवास पुनर्निर्माण आयोजना तथा एमडिटिएफसँग सम्बन्धित प्राविधिक सहयोग, सोधभर्ना र प्रतिवेदन सम्बन्धि कार्य पनि अब राष्ट्रि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हेर्नेछ । हाल पुनर्निर्माण प्राधिकरणले प्रत्यक्ष हेरिरहेको धरहरा, सिंहदरबार, रानीपोखरीको शान्तिबाटिका खण्ड, हरिहर भवन तथा नारायणहिटी संग्रहालय अन्तर्गतको रणोद्विप दरबारको भौतिक निर्माणको कार्य शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले हेर्नेछ । 

 

यस्तै पुनर्निर्माण सम्पन्न भएको रानीपोखरी काठमाडौँ महानगरपालिकाको कार्यालयलाई हस्तान्तरण हुनेछ । केन्द्रीय आयोजना कार्यन्वयन इकाई (भवन), केन्द्रीय आयोजना कार्यन्वयन इकाई (शिक्षा) र केन्द्रीय आयोजना कार्यन्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) अन्तर्गत सम्बन्धित श्रेष्ता तथा कागजात सम्बन्धित मन्त्रालय एवं विभागमा भदौ अन्तिम साता हस्तान्तरण भइसकेका छन् ।

 

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीसमेतको उपस्थिति थियो । प्राधिकरणको कार्यकाल यही पुस ९ गतेबाट सकिंदै छ ।



Your Comments