ग्वार्कोमा फ्लाईओभर बनाउन ९ कम्पनीको आवेदन, नेपाली कम्पनीले बनाउने

ग्वार्कोमा फ्लाईओभर बनाउन ९ कम्पनीको आवेदन, नेपाली कम्पनीले बनाउने


इन्जिनियर्स नेपाल |  मंसिर १४, २०७८,


engineersnepal.com

सांकेतिक


नेपाली आफैँले पहिलोपटक निर्माण गर्न लागेको ललितपुरको ग्वार्को फ्लाईओभर निर्माण गर्न ९ वटा कम्पनीले आवेदन दिएका छन् । निर्माणका लागि ठेक्का आह्वान गरिएकामा नौ कम्पनीले आवेदन दिएका हुन् । अहिले प्रस्ताव मुल्यांकको क्रममा रहेको छ ।


सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख प्रभात झाले नयाँ प्रकारको ठेक्का भएकाले ढिला भएको र आगामी दुई सातासम्ममा टुङ्गो लाग्ने बताए । उनका अनुसार यो फ्लाइओभर नेपाली निर्माण व्यवसायीले नै बनाउनेछन् भने निर्माण सुरु भएको दुई वर्षमा नै फ्लाइओभर बन्नेछ । बोलपत्र हाल्ने कालिका कन्स्ट्रक्सनको अदालतमा मुद्दामा परेकाले उसलाई मूल्याङ्कनमा पार्ने कि नपार्ने भन्ने विषय भने अन्योल भएको छ । 


ADVERTISEMENT

 

काठमाडौँका बढी व्यस्त सडकमा हुने सवारी साधनको चाप कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा फ्लाइओभर र अन्डरपास वे निर्माण योजनाअनुसार पहिलो पटक ग्वार्कोमा निर्माणको प्रक्रिया अघि बढाइएको हो । आठ लेन रहेको चक्रपथको बीचको चार लेनलाई माथि उचाल्न लागिएको केन्द्रले जनाएको छ । बालकुमारीबाट आएका सवारी साधनका लागि  चार लेन उठाएर ग्वार्कोतिर लग्ने र अर्को चार लेन तल (अहिलेको भएको ठाउँमा) हुनेछ । 


फ्लाई ओभरको जम्मा लम्बाइ झन्डै ५०० मिटर र उचाइ छ मिटर हुनेछ । माथि चढ्न र झर्नका लागि ¥याम हुनेछ भने माथिल्लो भागमा सुपर स्ट्रक्चर हुनेछ । उपत्यकामा व्यस्त सात चोकमा सवारी साधनको आवागमन सजिलो बनाउनका लागि अध्ययन गर्न उल्लेख गरेकामा केन्द्रले ग्वार्को, सातदोबाटो र एकान्तकुना गरी तीन चोकमा अध्ययन गरेको थियो । 


सरकारको आफ्नै लगानीमा निर्माण गर्न यो योजनामा नेपाली निर्माण व्यवसायीले नै काम गर्ने भएका  छन् । अहिलेसम्म ‘फ्लाई ओभर’ निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि गाडी हिँड्ने धेरै पुल बनाइसकेकाले जिम्मेवारी दिन लागिएको हो । नेपाली व्यवसायीले मुग्लिन पुल, धोबीखोला पुललगायत ठूला र जटिल ठूला पुल बनाएर आफूलाई प्रमाणित गरिसकेकाले  जिम्मेवारी दिइएको हो । संरचना निर्माण गर्ने अवधिमा सडकमा यातायात आवागमन अवरुद्ध नहोस् भन्नेमा ध्यान दिइएको छ । 


यस वर्ष ग्वार्कोमा निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेकामा आगामी आवमा सातदोबाटो र एकान्तकुनामा पनि फ्लाइओभर  निर्माण गरिने योजना छ । चीन सरकारले झन्डै तीन वर्ष पहिले निर्माण गरेको चक्रपथका चोकहरुमा ‘फ्लाई ओभर’ निर्माणको योजना बनाइएको हो । सातदोबाटो र एकान्तकुनामा सडक विभागले नै केही समय पहिले मात्रै आकाशेपुल निर्माण गरेको छ । ती स्थानमा यात्रु हिँड्न बनाइएका आकाशेपुल भत्काउन नपर्ने गरी फ्लाइओभर  निर्माण गरिने विभागले बताउँदै आएको छ । रासस



Your Comments