विद्युत सेवा पुर्याउने लक्ष्य पुरा हुँदै, ९० प्रतिशत घरधुरीमा बिजुली

विद्युत सेवा पुर्याउने लक्ष्य पुरा हुँदै, ९० प्रतिशत घरधुरीमा बिजुली


इन्जिनियर्स नेपाल |  मंसिर ७, २०७८,


engineersnepal.com

काठमाडौं । आगामी २ वर्षभित्र सबै नेपालीलाई विद्युत सेवा पु¥याउने सरकारको योजना पूरा हुनेतर्फ अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णाली प्रदेशका चार जिल्लामा विद्युत् सेवा पुग्न सकेको छैन । ती जिल्लामा पनि छिट्टै केन्द्रीय प्रसारण लाइनको बिजुली उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ । 

 


ADVERTISEMENT

प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार कूल ७५३ स्थानीय तहमध्ये ४७१ स्थानीय तहमा ९० देखि १०० प्रतिशत नै विद्युतीकरण भएको छ । यस्तै, ११३ स्थानीय तहमा ६५ देखि ९० प्रतिशत विद्युतीकरण भएको छ । पैतालिस स्थानीय तहमा ३५ देखि ६५ प्रतिशत, ६३ स्थानीय तहमा पाँचदेखि ३५ र ६१ स्थानीय तहमा पाँच प्रतिशतको हाराहारीमा मात्रै बिजुली उपलब्ध भएको छ । दिगो विकास लक्ष्यले निर्धारण गरेको क्षेत्रमध्ये ऊर्जाको उपलब्धता पनि महत्वपूर्ण रहेको छ ।

 

वर्तमान सरकारले सबैलाई ऊर्जाको पहुँच पु¥याउने लक्ष्य राखेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसका लागि सबै प्रकारको साधन र स्रोत उपलब्ध गराएको छ । ऊर्जामन्त्री पम्फा भुसालका अनुसार बिजुली पुगेका क्षेत्रमा गुणस्तरीय र भरपर्दो सेवा दिने र नपुगेका क्षेत्रमा अहोरात्र काम गरेरै भए पनि उपलब्ध गराउने लक्ष्य राखिएको छ । प्राधिकरणका अनुसार देशभर ६२ लाख १८ हजार ३९५ घरधुरी रहेकामा तीमध्ये कूल ८९।७० प्रतिशतमा विजुली पुगेको छ । 


प्रदेश नं  १ मा ८६ दशमलव ९५ प्रतिशत, प्रदेश नं २ मा ९९ दशमलव ६६ प्रतिशत, वाग्मतीमा ९५ दशमलव ९१ प्रतिशत, गण्डकीमा ९५ दशमलव ६८ प्रतिशत, लुम्बिनीमा ९४ दशमलव ९१ प्रतिशत, कर्णालमिा ४३ दशमलव ८७ प्रतिशत र सुदूरपश्चिममा ७१ दशमलव ०७ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । यो विवरणका आधारमा हेर्दा प्रदेश नं २ ले धेरै नै सफलता प्राप्त गरेको देखिन्छ भने कर्णाली प्रदेशमा अझै महेनत गर्नुपर्ने देखिन्छ । प्राधिकरणले अधिकांश स्थानमा ११ र ३३ केभी क्षमताका प्रसारण लाइनमार्फत बिजुली दिएको छ । 


ती प्रसारण लाइनको क्षमता वृद्धि गर्ने र ट्रान्सफर्मर थप क्षमताको राख्ने लक्ष्यसाथ काम गरिरहेको छ । यसबाट गुणस्तरीय र भरपर्दो बिजुली उपलब्ध हुनेछ । प्रदेश नं १ का १४ जिल्लामध्ये सोलुखुम्बुमा ६ दशमलव २ घरधुरीमा मात्रै बिजुली पुगेको देखिन्छ । झापामा ९८ दशमलव ९१, मोरङमा ९८ दशमलव २, सुनसरीमा ९९ दशमलव ६२, धनकुटामा ९७ दशमलव ६५ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । प्रदेश नं १ को ओखलढुङ्गाको अवस्था कमजोर देखिन्छ । 

 

सो जिल्लामा मात्रै ४६ दशमलप ६ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । थप बिजुली उपलब्ध गराउन एक हजार ३४१ वटा ट्रान्सफर्मर जडान गर्ने लक्ष्यका साथ काम भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्रदेश नं २ का आठ वटै जिल्लामा करिब शतप्रतिशत विद्युतीकरण हुने अवस्थामा पुगेको छ । 


प्राधिकरणका लागि यो ठूलो सफलता हो । कूल १० लाख ८९ हजार ८७४ घरधुरीमध्ये ९९ दशमलव ६६ प्रतिशतमा बिजुली सेवा पुगेको छ । सो प्रदेशको बिजुलीको प्रणाली सुधारका लागि थप रु चार अर्ब बजेट उपलब्ध भएको छ । सरकारको लक्ष्यअनुसार नै प्राधिकरणले सबै नागरिकलाई भरपर्दो बिजुली उपलब्ध गराउन लागिपरेको र त्यसमा क्रमशः सफलता हासिल भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । यस्तै, वाग्मती प्रदेशका १३ जिल्लाका कूल १५ लाख तीन हजार २७८ घरधुरीमध्ये ९५।९१ प्रतिशतमा बिजुली उपलब्ध भएको छ ।


संघीय राजधानी रहेको काठमाडौँ उपत्यकाका दुई जिल्ला र नुवाकोटमा शतप्रतिशत विद्युतीकरण हुँदा ललितपुरमा ९९ दशमलप ८८ प्रतिशत छ । सिन्धुलीमा ६९ दशलव ५१, मकवानपुरमा ८९ दशमलव १९, धादिङमा ९१ दशमलव १३, चितवनमा ९२ दशमलव २२ प्रतिशत विद्युतीकरण भएको छ । प्राधिकरणको विवरण अनुसार सिन्धुलीको फिक्कल र हरिहरपुरगढीमा बिजुली पु¥याउन अझै मेहनत गर्नुपर्ने देखिन्छ ।

काभ्रेपलान्चोकको खानीखोला र महाभारतमा पनि बिजुली उपलब्ध गराउन प्राधिकरणलाई निकै मेहेनत आवश्यक छ । धादिङको रुबीभ्याली गाँउपालिकामा विद्युतीकरणका लागि अझै केही समय लाग्ने देखिन्छ । प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार गण्डकी प्रदेशका कूल छ लाख १२ हजार ६५८ घरधुरीमध्ये ९५ दशमलव ६८ प्रतिशतमा बिजुली पुगेको छ । स्याङ्जा र पर्वतमा शतप्रतिशत विद्युतीकरण छ । मनाङमा ६७ दशमलव ६८, नवलपुरमा ८८ दशमलव ४०, म्याग्दीमा ९२ दशमलव ३५ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । 


विवरणअनुसार सुर्खेतका तीन, दैलेखका तीन, जाजरकोटका चार, डोल्पाका छ, जुम्लाका पाँच, कालीकोटको एक, मुगुको तीन, हुम्लाका चार स्थानीय तहमा बिजुली उपलब्ध हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशका कूल नौ जिल्लाका पाँच लाख ४७ हजार ६७१ घरमध्ये हालसम्म ७१ दशमलव ७ प्रतिशतमा बिजुलीको केन्द्रीय प्रसारण लाइन पुगेको छ । त्यसमा बाजुरा १३ दशमलव ४४, बझाङ २१ दशमलव ५८, दार्चुला ४० दशमलव ५८, बैतडी ३४ दशमलव ३६ र अछाममा ४५ दशमलव ३५ प्रतिशतमा बिजुली उपलब्ध छ । बाजुराको पाँच, बझाङको एक, अछामको दुई,  बैतडीको तीन, दार्चुलाको दुई स्थानीय तह अझै पनि बिजुलीको पहुँचबाट टाढा छ । रासस



Your Comments