चर्चाको झण्डै २ दशकमा उत्तरगंगा जलाशययुक्त आयोजनाको डीपीआर बन्दै

चर्चाको झण्डै २ दशकमा उत्तरगंगा जलाशययुक्त आयोजनाको डीपीआर बन्दै


इन्जिनियर्स नेपाल |  मंसिर ६, २०७८,


engineersnepal.com

गलकोट । उत्तरगंगा जलशाययुक्त आयोजनाको चर्चाको झण्डै २ दशकमा बल्ल विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउने तयारी गरिएको छ । आयोजा निर्माणको चर्चा २०६१ सालदेखि भए पनि बल्ल आएर डिपिआर थालिएको हो । सम्भाव्यता अध्ययन गरेको दुई वर्षपछि बागलुङमा निर्माण हुने भनिएको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनाका विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन थालिएको छ ।

 


ADVERTISEMENT

सम्भाव्यता अध्ययन सम्पन्न पश्चात् डिपिआरको काममा उत्तरगंगा पावर कम्पनीले इरानी कन्सल्टेन्सी शहिद वहिद डास्ग्रेडी तेहरानलाई सम्झौता गरेर काम थालेको छ ।योसँगै चर्चामा नै सीमित रहेको आयोजना अगाडि बढ्ने संकेत देखिएको छ । गत असोजबाट काम थालेको कन्सल्टेन्सीले स्थलगत काम अन्तिम चरणमा पु¥याएको आयोजनाको काम गर्दै आएको सो पावर कम्पनीले जनाएको छ । विद्युत् प्राधिकरण मातहतमा रहेको उक्त कम्पनीले दुई वर्ष पहिले सम्भाव्यता अध्ययन गरेर सकेको थियो । 

 

अहिले कम्पनी ठेक्कामा जानुअघि गरिने सबै चरणका काम पूरा गर्ने गरी काम भइरहेको कम्पनीका प्रबन्ध निर्देशक अम्बिकेश झाले जानकारी दिए । “आयोजनाका बारेमा बाहिर जुन टीकाटिप्पणी भइरहेको छ, त्यो होइन, अहिले धमाधम डिपिआरको काम भइरहेको छ, एक वर्षभित्र डिपिआर सकेर निर्माणको लागि आर्थिक सुनिश्चितता गर्ने हाम्रो लक्ष्य हो”, उनले भने । 


सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन भइसकेको छ, अब डिपिआर सकेपछि ठेक्का प्रक्रियामा जाने हो तर ठूलो आयोजना भएकाले आर्थिक जोहो गर्न आवश्यक छ । उनका अनुसार उत्तरगंगा पावर कम्पनीले निरन्तररुपमा आयोजनाको काम गरिरहेको र ठूलो आयोजना भएकाले समय बढी खर्च भइरहेको छ । बाहिर आयोजना निर्माणमा भएको ढिलाइ नभएर निरन्तररुपमा आयोजनाको प्रक्रियागत काम भइरहेको छ ।  रुकुम लैजाने की निसीखोला भन्ने कुरा अब डिपिआरले बताउने भन्दै झाले डिपिआरमा आउने लागत, उत्पादन र फाइदाका आधारमा मात्रै आयोजना अगाडि बढ्ने स्पष्ट पारे ।

 

बागलुङको ढोरपाटनबाट बग्ने उत्तरगङ्गा नदी उपत्यकामा बाँध बानेर हिउँद बर्खामा समान विद्युत् उत्पादन गर्ने लक्ष्य छ । हिउँद र बर्खामा समेत  ८२८ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने प्रारम्भिक सर्वेक्षण रिपोर्टले बताएको छ । बागलुङमा बगिरहेको उत्तरगङ्गा नदी रुकुमको सानीभेरीमा मिसिँदै आएको छ तर विद्युत् उत्पादन गर्न उक्त नदीको पानीलाई निसीखोलामा झार्ने आयोजनाको लक्ष्य छ ।

 

आयोजनाको पानी रुकुम र बागलुङको निसीखोला कता खसाल्ने भन्नेमा नेताको द्विविधाका कारण आयोजनाले गति नलिएको स्थानीयको भनाइ रहेको छ ।  आयोजना निर्माण हुँदा प्रभावित क्षेत्रका नागरिकले उचित मुअब्जा, घरबासको व्यवस्थापन र रोजगारको ग्यारेन्टी खोजेका छन् तर आयोजनाले सबै विषयमा डिपिआरमा उल्लेख गरेर बल्ल निर्माण सुरु गर्ने जनाएको छ । 


महत्वपूर्ण आयोजनाका रुपमा सरकारले लिँदै आएको उत्तरगङ्गाप्रति जनताको धारणा दुई गरी रहेको छ । बाँध बान्दा ढोरपाटन उपत्यका पुरिने भन्दै आयोजना बनाउन समस्या हुने केही स्थानीयको भनाइ छ भने केहीले हाम्रो व्यवस्थापन भएमा आयोजनाले यहाँको आर्थिक विकासमा सहयोग पु¥याउने भन्दै सकरात्मक धारणा राख्दै आएको ढोरपाटन नगरपालिका–८ का स्थानीयवासी गमबहादुर भण्डारीले जानकारी दिए ।

 

आयोजनाले १०० भन्दा बढी घर र थुप्रै खेतीयोग्य जमिन ठूबानमा पार्ने देखिएको छ ।  यहाँका स्थानीयलाई आयोजनाको स्पष्ट कुरा राखेर मात्रै आयोजना अगाडि बढाउनुपर्ने स्थानीय देवबहादुर विश्वकर्माको धारणा छ । विसं २०६१ देखि आयोजनाको प्रारम्भिक सर्वेक्षण सुरु गरे पनि सम्भाव्यताको अध्ययन भने दुई वर्षअघि मात्रै सम्पनन भएको थियो । 

 

सम्भाव्यता अध्ययनको विवरण तयार पारेका  उत्तरगङ्गा पावर कम्पनीले डिपिआरको काम भइरहेको जनाएको छ । ढोरपाटनको उत्तरगङ्गा नदीमा २०० मिटर अग्लो बाँध बाधेर जम्मा गरेको पानीलाई ढोरपाटनको नवीदेखि सुरुङ माग हुँदै एक हजार ६३४ मिटर तल खसालेर निसीखोलामा झार्ने सम्भाव्यता अध्ययनमा उल्लेख छ । निसीमा दुई वटा भूमिगत विद्युत्गृह बनाएर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको छ ।

 

पछिल्लो समय, वातावरणीय प्रभाव मूल्याङ्कन र प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जाका विषयमा एक खालको छलफल भए पनि बृहत् छलफल नआएको ढोरपाटन–७ का वडा अध्यक्ष दीपक थापाले जानकारी दिए । आयोजना थोरै लागनीमा धेरै विद्युत् उत्पादनका लागि योग्य भएको विज्ञले बताउँदै आएका छन् । उक्त आयोजना निर्माणले गण्डकी प्रदेशको समृद्धिका लागि सहयोग पुग्ने सरोकारवालाको भनाइ रहेको छ । डिपिआर पछि मात्रै आयोजनाको वास्तविक विद्युत् उत्पादन र लागतलगायतका विवरण आउनेछन् । रासस



Your Comments