चौरासिया पक्राउ प्रकरण : एनभीएको अगुवाइमा इन्जिनियरहरुले कुमारी बैंक अघि दिए धर्ना

चौरासिया पक्राउ प्रकरण : एनभीएको अगुवाइमा इन्जिनियरहरुले कुमारी बैंक अघि दिए धर्ना


इन्जिनियर्स नेपाल |  मंसिर ५, २०७८,


engineersnepal.com

नेपाल भ्यालुयर्स एसोसिएसन (एनभीए) को अगुवाइमा आज आइतवारबाट इन्जिनियरहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको पहिलो दिन उनीहरुले कुमारी बैंकको केन्द्रिय कार्यालय काठमाडौंमा धर्ना दिएका छन् । एनभीएको बीरगन्ज च्याप्टरका सदस्य तथा डाइनामिक कन्सल्टेन्सी एन्ड कन्स्ट्रक्सन सर्भिसेजका प्रोप्राइटर ई.राजेशकुमार चौरासिया पक्राउपछि उनलाई रिहा गर्न माग गर्दै उनीहरुले धर्ना दिएका हुन् ।

 


ADVERTISEMENT

उनलाई कात्तिक २२ गते पक्राउ गरी थुनामा राखेको विरोधमा इन्जिनियरहरु आन्दोलित भएका हुन् । कीर्ते काजगपत्रका आधारमा कुमारी बैंकबाट कर्जा प्रवाह प्रकरणमा मूल्यांकनकर्तासमेत रहेका इन्जिनियर चौरासियालाई एकतर्फी रुपमा दोषी देखाई पक्राउ गरिएको भन्दै एनभीएको अगुवाइमा उनीहरुले आन्दोलन सुरु गरेका हुन् । 

 

मालपोत कार्यालयबाट भएको कीर्ते दृष्टिबन्धक एवं रोक्काजस्ता कार्यमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौरासियलाई पक्राउ गरिसकेको छ । गायक योगेश्वर अमात्यको जग्गाको मुल्यांकनलाई लिएर मुल्यांकनकर्ता चौरासीयालाई सिआइबीले पक्राउ गरेको थियो ।

 

आन्दोलनरत इन्जिनियरहरुले मंसिर २ गते चौरासियलाई पक्राउ गरेकोमा विरोध जनाएका थिए । आन्दोलनको कार्यक्रमअन्तर्गत अब इन्जिनियरले मंसिर ८ गते नेपाल बैंकर्स संघको कार्यालयमा धर्ना तथा विरोध कार्यक्रम गर्ने तयारी गरेका छन् । यस्तै च्याप्टरहरुको हकमा सम्बन्धित च्याप्टरहरुको कुमारी बैंकको शाखामा ११ बजे विरोध तथा धर्ना कार्यक्रम गरिने एनभीएले जनाएको छ । यसैगरी एसोसिएसनले नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशिकामा भएको व्यवस्था परिमार्जन गर्न माग गरेको छ ।



Your Comments