निजी आवास पुनर्निर्माणः थप १ लाख घर बने, रु.२१ अर्ब ५६ करोड खर्च

निजी आवास पुनर्निर्माणः थप १ लाख घर बने, रु.२१ अर्ब ५६ करोड खर्च


इन्जिनियर्स नेपाल |  साउन १९, २०७८,


engineersnepal.com

आर्थिक वर्ष ०७७र०७८ मा थप १ लाख ७ हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन् । मंगलबार सम्पन्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वार्षिक समीक्षा गोष्ठीमा दिइएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३१ हजार ३५९ लाभग्राही पहिचान भएका छन् ।

यसै अवधिमा ४१ हजार ७३८ हजारले अनुदान सम्झौता गरेका छन् ।  त्यस्तै, ४७ हजार ३८४ ले प्रथम किस्ता लिएका छन् भने ६९ हजार ०१० ले दोस्रो र ९२ हजार ५७८ ले तेस्रो किस्ता लिएका छन् ।


ADVERTISEMENT

उक्त आर्थिक वर्षमा थप ५८९ वटा विद्यालय, ५३ वटा स्वास्थ्य संस्था, १३३ वटा साँस्कृतिक सम्पदा र ९ वटा सरकारी भवनहरुको पुनर्निर्माण भएको छ । पुनर्निर्माण भइरहेका सुरक्षा निकायका ९ वटा भवनहरुको पनि पुनर्निर्माण सम्पन्न भएको छ । योसँगै प्राधिकरणबाट पुनर्निर्माण हुने निश्चित भएका सुरक्षा निकायका  २१६ वटै भवनहरुको पुनर्निर्माण सकिएको छ ।

कोभिड महामारीलगायतका समस्याका बाबजुद गत आर्थिक वर्षमा पुनर्निर्माणमा उल्लेखनीय वित्तीय प्रगति भएको छ । निजी आवासतर्फ विनियोजित कूल बजेट २३ अर्ब ८४ करोड ८८ लाख रुपैयाँमध्ये २१ अर्ब ५६ करोड ८ लाख रुपैयाँ खर्च भएको छ, जुन ९० दशमलव ४१ प्रतिशत हो । 

समग्रमा पुनर्निर्माण कार्यका लागि विनियोजित बजेट ७० अर्ब ३५ करोड ८७ लाख रुपैयाँमध्ये ७५ दशमलव ३० प्रतिशत अर्थात् ५२ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्षमा सार्वजनिक तथा ऐतिहासिक संरचनाहरुको पुनर्निर्माणमा पनि उल्लेखनीय प्रगति भएको छ ।

ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएर २०७७ कार्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भयो । त्यसैगरी, सिंहदरबारको पश्चिमबाहेकका मोहडाहरु  धरहरा स्तम्भको पुनर्निर्माण पनि सम्पन्न भयो । सोही अवधिमा काठमाडौं जमलस्थित ऐतिहासिक दरबार हाइस्कुलको पुनर्निर्माण सम्पन्न भएर अध्ययन–अध्यापन सुरु गरिएको छ ।

यस अवधिमा ४६ हजार ३०० गुनासोकर्ताले प्राधिकरणको पुनरावेदन समितिसमक्ष लाभग्राही कायम गरिदिन निवेदन दिएका छन् । यो अवधिमा राष्ट्रिय पुनर्निर्माण निर्देशक समितिका तीनवटा बैठक सम्पन्न भएका छन् । त्यस्तै, कार्यकारी समितिको १३४ औं देखि १४७ औं गरी १४ वटा बैठक संचालन भएका छन् ।

सोही आर्थिक वर्षमा प्राधिकरणले नेपालको पुनर्निर्माण सम्बन्धमा भर्चुअल माध्यमबाट राष्ट्रिय परिसंवाद र पुनर्स्थापना तथा पुनर्निर्माणका अनुभवहरुको समीक्षा गर्न सेमिनारको आयोजना पनि गरेको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणको बाँकी अवधिमा निजी आवास पुनर्निर्माण गर्न इच्छुक लाभग्राहीलाई सहजीकरण गर्दै निजी आवासका मूलभूत कार्य सम्पन्न गर्ने बताए । 

सो अवसरमा उनले घर नबनाउनेहरुले के कारणले घर बनाएनन् भन्ने अभिलेख राखिने पनि बताए । ज्ञवालीले यस अवधिमा लेखा परीक्षण, अभिलेखीकरण तथा हस्तान्तरणका कार्यहरु समनान्तर रुपमा अगाडि बढ्ने पनि उल्लेख गरे ।

प्राधिकरणको कार्यावधि २०७८ पुस १० गतेसम्म छ । वार्षिक समीक्षामा कोराना माहामारीका कारण गत आर्थिक वर्षको अन्तिम साढे दुई महिना काम रोकिँदा निजी आवासलगायत पुनर्निर्माणका कतिपय कार्यहरु सम्पन्न गर्न सम्भव नभएको उनको भनाइ छ ।

यसैगरी केही बजेट फ्रिज भएको, शहरी क्षेत्रमा निजी आवास पुनर्निर्माणले अपेक्षित गति लिन नसकेको, जग्गा अभावका कारण केही विद्यालय पुनर्निर्माणमा समस्या देखिएको औंल्याइएको छ ।

पुनर्निर्माण कार्यहरुको बार्षिक प्रगति, समस्या तथा सिकाईको समीक्षामा पुनर्निर्माणसँग सम्बन्धित मन्त्रालय, विभाग तथा अन्य निकायका प्रतिनिधिहरुको सहभागिता थियो । भर्चुअल माध्यमबाट गरिएको समीक्षामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, प्राधिकरणअन्तर्गतका केन्द्रीय आयोजना कार्यान्वयन इकाईहरु, भूकम्पीय आवास पुनर्निर्माण आयोजना, पुरातत्व विभाग, पशुपति क्षेत्र विकास कोषका प्रमुखहरुले प्रस्तुतीकरण गरेका थिए ।



Your Comments