३ हजार ३१० मेवा क्षमताका ९ जलविद्युतको अध्ययन सम्पन्न गरिदैं-यी हुन् आयोजना

३ हजार ३१० मेवा क्षमताका ९ जलविद्युतको अध्ययन सम्पन्न गरिदैं-यी हुन् आयोजना

२०२४ क्षमताका ११ आयोजनाको अध्ययन यो वर्षदेखि सुरु


इन्जिनियर्स नेपाल |  साउन १०, २०७८,


engineersnepal.com

विगत ६ वर्षदेखि अध्ययनको क्रममा रहेका विभिन्न जिल्लाका ९ वटा जलविद्युत आयोजनाको अध्ययन यही चालू आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गरिने भएको छ ।  विद्युत विकास विभागले कुल ३ हजार ३१० मेगावाट (मेवा) क्षमताका ९ आयोजनाको सम्भाव्यता तथा वातावरणीय, विस्तृत इन्जिनियरिङ लगायतका सबै अध्ययन सम्पन्न गर्ने तयारी गरेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति प्रतिवेदनअनुसार २०७१/७२ देखि अध्ययनका क्रममा रहेका विभिन्न ९ वटा आयोजनाको अध्ययनहरु सम्पन्न गर्ने लक्ष्य विभागले राखेको छ ।  


ADVERTISEMENT

२०७१/७२ देखि २०७४ सम्ममा अध्ययनहरु गरिएका पर्वत जिल्लाको ५० मेगावाट (मेवा)को बेनी–कालीगण्डकी, संखुवासवाको ४९० मेवा क्षमताको अरुण–४ को अध्ययन सम्पन्न गरिने भएको छ । 

यसैगरी अर्घाखाँचीको २१८ मेवा क्षमताको नौमुरे जलायशयुक्त आयोजना, हुम्ला जिल्लाको ४९ दशमलव ५ मेवाको लोती–कर्णाली, झापा–इलाम जिल्लाको ६० मेवाको कंकाई बहुउद्देश्यीय आयोजना, काभ्रे र सिन्धुपाल्चोकको ६८३ मेवाको सुनकोशी ३ रहेको छ ।

यस्ता आयोजनामा सिन्धुली जिल्लाको ९७८ मेवा क्षमताको सुनकोशी–२, सँखुवासवाको ४७४ दशमलव २५ मेवाको तल्लो अरुण र डोटी र अछाम जिल्लाको ३०८ मेवाको सेती रिभर–६ आयोजनाको अध्ययन सम्पन्न गर्ने तयारी विभागको छ । 

अध्ययनकै विगत ६ वर्षदेखि अध्ययनकै क्रममा रहेका यी आयोजनाको अध्ययनहरु सम्पन्न गरेर निर्माणमा लैजानका लागि तयारी गरिने विभागले जनाएको छ । 


यसैगरी विभागले विभिन्न १९ वटा आयोजनाहरुको अध्ययन भने ४ वर्ष अर्थात् २०८१/८२ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस्ता आयोजनाहरुको अध्ययन भने २०७६/७७ देखि सुरु गरिएको छ । 


२०२४.६४ मेवा क्षमताका ११ आयोजनाको अध्ययन योजना
 

विभागको उक्त प्रतिवेदनअनुसार चालू आर्थिक वर्षदेखि भने ११ वटा विभिन्न आयोजनाको अध्ययन अघि बढाउने योजना अघि सारिएको छ । २०२४ दशमलव ६४ मेवा क्षमता ११ आयोजनाहरुको अध्ययन अघि बढाउने योजना विभागको छ । 

ती आयोजनाहरुमा गोर्खाको ५२ मेवाको सुपर बुढीगण्डकी, लम्जुङको ४२ मेवाको मस्र्याङदी ३, सोलुखुम्बुको ३८ मेवाको माथिल्लो होंगु, गुल्मी र बाग्लुङ जिल्लाको ३५० मेवाको तल्लो बढीगाढ, गोरखाको ४३ दशमलव ५२ मेवा क्षमताको तोमदोगर, जाजरकोटको १२८ मेवाको  डाँडागाउँ खालङगा भेरीको अध्ययन ०८१÷८२ मा अध्ययन सम्पन्न गर्ने योेजना विभागको छ ।  

यस्तै स्याङजा, तनहुँ र पुर्वी नवलपरासीको ५०३ मेवा क्षमताको कालिगण्डकी २, दैलेखको ६० मेवाको लोहोरे, जुम्ला र कालिकोट जिल्लाको ३५ मेवा क्षमताको तिला, हुम्लाको ६३७ दशमलव १२ मेवाको हुम्ला कर्णाली क्यासकेड र मुगु जिल्लाको १३६ मेवा क्षमताको मुगु कर्णालीको अध्ययन पनि सोही वर्षसम्म सम्पन्न हुने विभागको भनाइ छ । 

यीसहित विभागले हालसम्म विभिन्न जिल्लामा गरी ६२ वटा जलविद्युत आयोजनाहरुको कुल ९ हजार ३४६ दशमलव ३४ मेवा क्षमताका आयोजनाहरुको अध्ययन गर्दै आएको छ  ।



Your Comments