राष्ट्रिय राजमार्गमा पहिलो सुरुङमार्ग: १७ करोड लागत ३५० मिटर लम्बाई

राष्ट्रिय राजमार्गमा पहिलो सुरुङमार्ग: १७ करोड लागत ३५० मिटर लम्बाई


इन्जिनियर्स नेपाल |  साउन ६, २०७८,


engineersnepal.com

राष्ट्रिय राजमार्गमा सुरुङ निर्माण भई सञ्चालनमा आएको छ। दोलखाको विगु गाउँपालिका–१ स्थित काभ्रेभिरमा १७ करोडमै सुरुङमार्ग निर्माण सम्पन्न भएको हो ।  

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवेशमार्ग गोंगर–लामाबगरमा पर्ने काभ्रेभीर नजिकैको सडक भूकम्पले भत्किएपछि यो सुरुङमार्ग बनाइएको छ। 


ADVERTISEMENT

भूकम्पपछि सो क्षेत्रको करिब चार सय मिटर सडकको धेरैजसो भागमा जगसमेत नरहे गरी पहिरो गएको थियो ।  उक्त स्थानबाट सीधै तल रहेको तामाकोसी नदीसम्म करिब ३५० मिटर चट्टानी ठाडो भीर रहेकाले सडक निर्माण गर्न सम्भव नभएपछि सुरुमार्ग निर्माण गरिएको हो। 

तामाकोसी आयोजनाका मुख्य सिभिल ठेकेदार सिनो हाइड्रो कर्पोरेसनले इन्भर्टेड–डी आकारमा ३३७ मिटर लामो सुरुङमार्ग बनाएको थियो। नेपालमा हालसम्म सानाठूला आकारका करिब २७० किलोमिटर लामा सुरुङहरू निर्माण भइसकेका अनुमान छ ।

ती सुरुङहरू अधिकांश जलविद्युत्, खानेपानी, सिँचाइ परियोजनाहरूमा पानी पठाउन र पहुँच सुरुङका रूपमा मात्र निर्माण भएका छन् । 

सार्वजनिक सवारी यातायातको उद्देश्यले केही सुरुङमार्ग मात्रै बनेको र केही निर्माणाधीन छ । तामाकोसीमा बनेको “काभ्रेभीर सुरुङमार्ग” नेपालको राष्ट्रिय राजमार्ग नेसनल एनएच २८ को रेखाङ्कनमा रहेको छ।

यसअघि नेपालको कुनै पनि राष्ट्रिय राजमार्गको रेखाङ्कनमा सुरुङमार्ग निर्माण भएको नपाइएकाले यसै सुरुङ मार्गलाई राजमार्गमा बनेको पहिलो सुरुङमार्ग भएको दाबी छ । 

२०७२ साल वैशाखको भूकम्पपछि बनेको यो सुरुङमार्ग चर्चामा नरहे पनि नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्गमा रहेकाले महत्त्वपूर्ण मानिन्छ।



Your Comments